© २०२३
काठमाडौं, १३ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले माओवादी पार्टी अहिलेको अवस्थामा नरहने दाबी गर्दै, त्यससँग एकता गर्न चाहने आफ्नै पार्टी नेताहरुलाई सावधानी अपनाउन सुझाव दिएका छन् ।
पार्टीको बैठकमा ‘वाम एकता’ सम्बन्धी छलफलका क्रममा उनले सैद्धान्तिक रूपमा असहमति जनाउँदै भने – माओवादी अवसरका लागि भौतारिँदै आएको र त्यस प्रक्रियामा खिइँदै गएको पार्टी भएको स्पष्ट देखिन्छ ।
उनका शब्दमा, ‘माओवादी आज जे छ, त्यो रहन्न । यसको डिएनएको कारणले यो पार्टी फेरि विभाजित हुन्छ । म पनि धेरै नेताहरूसँग सम्पर्कमा छु,’ उनले बैठकमा भने ।
महासचिव भूसालले आफू वाम आन्दोलनको एकताको पक्षमा रहेको स्पष्ट पार्दै भने, ‘नेतामात्र मिल्ने एकताको अर्थ हुँदैन । २०७५ साल जेठ ३ गते हामीले माओवादीसँग एकता गरेका थियौं । त्यो एकता भागबन्डामा आधारित भएकाले टिकेन । अहिले पनि त्यस्तै प्रयास भइरहेको छ, जसले पुनः असफलता दोहोर्याउने सम्भावना छ ।’
उनले वाम आन्दोलन कमजोर हुँदै जानुको मुख्य कारण नेतृत्वको असफलता रहेको बताए । ‘माओवादी अवसरका लागि भौतारिँदै छ । हिजो ३१ लाख भोट पाउने पार्टी आज ११ लाखमा झर्यो । अब कहाँ पुग्ने हो, सोच्नुपर्ने बेला आएको छ,’ भूसालले भने ।
महासचिव भूसालले हाल माओवादीसँग एकता गर्ने भन्दै तयार पारिएको ‘सैद्धान्तिक फ्रेम’ नै यदि मुख्य कुरा हो भने एमालेसँग पनि एकता हुनसक्ने तर्क गरे । ‘एमालेले जबज (जनताको बहुदलीय जनवाद) शब्द हटाउने हो भने, एमालेसँग पनि एकता हुन सक्छ,’ उनले जोड दिए ।