© २०२३
दाङ ,१३ कात्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका नाममा लोकतन्त्र विरोधीले देशलाई धरापमा पारेको बताएका छन् । प्रतिनिधि सभा पुनः स्थापनाको विषयमा सर्वोच्च अदालतको पर्खाइमा रहेको बताए ।
प्रेस चौतारी नेपाल दाङले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अदालतको निर्णय आउनुअघि कुनै निष्कर्षमा नपुग्ने बताए ।
उनले अदालत संविधानको अन्तिम व्याख्याता भएको र त्यसको निर्णय कानुन सरह मानिनुपर्ने बताए। “फैसला जसरी आउँछ, त्यसैको आधारमा अघि बढ्छौँ,” उनले भने, “यदि पुनः स्थापना भयो भने जेनजी युवाका जायज माग सम्बोधन गर्दै राजनीतिक सहमति खोज्नेछौं। एमाले चुनावबाट कहिल्यै भाग्दैन।”
सरकारले चुनावका समयमा जनता सामु जाने वातावरण बनाउनुपर्ने बताए । जनतासँग आफ्ना कुरा राख्न पाउनु राजनीतिक दलको अधिकार हो ।
महासचिव पोखरेलले वर्तमान सरकारले नागरिक सुरक्षाप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै अराजकतालाई बढवा दिएर समाज बन्न नसक्ने बताए। भदौ २३ र २४ का घटना क्रान्ति नभई राष्ट्र विरोधी गतिविधि भएको बताए । त्यसमा सुरक्षा निकायबिच समन्वय नहुँदा समस्या उत्पन्न भएको उल्लेख गरे।
उनका अनुसार जेन–जी आन्दोलनमा उठाइएका केही माग जायज भए पनि त्यसमा राष्ट्र विरोधी तत्त्वहरूको घुसपैठ भएको छ। साथै उनले सरकार एनजिओ–आइएनजिओको प्रभावमा चलेको आरोपसमेत लगाए। जेनजीको आन्दोलनका नाममा देशका महत्त्वपूर्ण दस्ताबेज मेटाउने काम गरेको बताए ।।