© २०२३
काठमान्डौ, १३ कार्तिक ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न चुनावअघि पार्टीको १५औं महाधिवेशन आयोजना गर्न सकिने चार विकल्प अघि सारेका छन् । उनले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग टेलिफोन सम्पर्क गरी ती विकल्पहरू प्रस्तुत गरेका हुन् ।
महामन्त्री शर्माले पहिलो विकल्पका रूपमा मंसिर २७ देखि २९ गतेसम्म नियमित १५औं महाधिवेशन सम्पन्न गर्न सकिने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव पार्टीका अर्का महामन्त्री गगन थापाले कार्यसम्पादन समितिमा प्रस्तुत गरेको कार्यतालिकासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नियमित कार्यतालिका पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
दोस्रो विकल्पका रूपमा उनले मंसिर मसान्तसम्म नियमित महाधिवेशन गर्न समय अभाव देखिए विशेष महाधिवेशन बोलाउन सकिने सुझाव दिएका छन् । उनका अनुसार पार्टी विधानको धारा १७ (२) बमोजिम केन्द्रीय समितिको निर्णयले विशेष महाधिवेशन आह्वान गर्न सक्ने व्यवस्था भएकाले सो विकल्प प्रयोग गर्न सकिने हो ।
तेस्रो विकल्पमा उनले सोही विधान धाराअनुसार महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्न सकिने उल्लेख गरेका छन् ।
यदि यी विकल्पहरूमा पनि सहमति नजुटे, भने शर्माले पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन आयोजना गर्न सकिने चौथो विकल्प अघि सारेका छन् । उनले संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा ‘मेलमिलापको नीति’ लिएर फर्किएको दिनलाई स्मरण गर्दै सोही मितिबाट महाधिवेशन सुरु गर्न प्रतीकात्मक दृष्टिले उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।
शर्माले प्रस्तावमा केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन तथा महाधिवेशन तयारीका लागि आवश्यक अन्य उपसमिति गठन गर्नुपर्ने सुझावसमेत समावेश गरेका छन् ।