© २०२३
काठमान्डौ, १३ कार्तिक ।
सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले जिल्ला अदालत मोरङको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ । हालसम्म २७ जना पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् ।
मोरङ प्रहरीले ठगीको घटनामा पुनमदेवी साहको नाम मुख्य रूपमा संलग्न रहेको जनाएको छ । पीडितहरूको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् । उनका अनुसार सो गिरोहले सप्तरीमा पनि यस्तै प्रकृतिको ठगी गरेको प्रमाण फेला परेको छ ।
गिरोहले सामाजिक सञ्जाल र मोबाइलमा ‘जिल्ला अदालतमा करार कर्मचारीको विज्ञापन खुलेको’ भन्दै नक्कली विज्ञापन देखाएर रकम असुल गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानमा समूहले २ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्म रकम संकलन गरेको र केही पीडितसँग २ लाख रुपैयाँसम्म असुलेको दाबी गरिएको छ ।
ठगी गर्ने गिरोहले पीडितलाई बाहिर बोले ज्यान मार्ने धम्की पनि दिइरहेको पीडितको गुनासो छ ।
गिरोहले २०८२ साउन १२ गतेको मिति उल्लेख गरी नायब सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाका लागि दरखास्त खुलाएको भन्दै ठगी गरेको थियो । ठगीका क्रममा उनीहरूले नक्कली परिचयपत्र पनि बनाउने र देखाउने गरेको पाइएको छ ।
उनीहरूले आफूले नियुक्त गरेको भनिएका कर्मचारीका परिचयपत्रमा ‘प्रशासन अधिकृत केदारनाथ पौडेल’ नाम र हस्ताक्षरसमेत नक्कली रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ ।
पीडितहरू सुरुमा जिल्ला अदालत मोरङ पुगेका थिए । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, पीडितलाई उजुरीका लागि प्रहरी कार्यालय जान सल्लाह दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता चुडालले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।