© २०२३
काठमाडौँ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ । भेटवार्तापछि एयर फोर्स वन मा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘अत्यन्त सफल’ र ‘महान् बैठक’ भएको बताए ।
बीबीसीका अनुसार, उनले करिब १५ मिनेटसम्म प्रश्नहरूको उत्तर दिए, तर चीनसँग भएको सम्झौताबारे विस्तृत जानकारी भने दिएनन् । ट्रम्पले चीनसँग दुर्लभ खनिज व्यापारसम्बन्धी विवाद समाधान भएको बताए । उनले भने, ‘अब चीनबाट कुनै बाधा छैन ।’
यद्यपि, उनले सम्झौताअन्तर्गत के-के सहमति भएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेनन् । ट्रम्पका अनुसार, अमेरिकाले चीनबाट आयात गरिएका सबै सामानमा तुरुन्तै भन्सार कर घटाउनेछ ।
उनले अमेरिका र चीन युक्रेनमा जारी युद्धबारे पनि ‘सँगै काम गर्ने’ बताएका छन् । तर, दुई नेताबीच ताइवानको मुद्दा भने उठाइएन । ट्रम्पले अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्ने योजना बताएका छन् । त्यसपछि राष्ट्रपति सी चिनफिङले अमेरिकाको भ्रमण गर्ने पनि उनले जनाएका छन् ।