© २०२३
आज विश्व पक्ष घात दिवस ।
पक्षघातको जोखिमको विषयमा शिक्षित र स्वयं स्वास्थ्यकर्मीहरू समेत सचेत नभएको अवस्थामा रोगको विषयमा अन्जान र अशिक्षित मानिसहरूमा यसको दुष्प्रभावको असर कति हुन्छ भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ ।
स्वास्थ्यकर्मीहरूले समेत यो रोग र दिवसका विषयमा जानकारी नपाउनु दुःखद पक्ष हो । सरकारले प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्वभर पक्ष घात दिवस मनाउने गरेको छ । धेरै जोखिम, संवेदनशील र जटिल रोगको सूचीमा मुटु, मिर्गौला तथा क्यान्सरलाई लिने गरिएको छ ।
पछिल्लो समय यी रोगका बिरामीको सङ्ख्या वृद्धि भइरहेको छ । यी रोगका अतिरिक्त यो भन्दा पनि संवेदनशील र जटिल रोगको विषयमा धेरैलाई जानकारी भएर पनि लापरबाही गर्ने गरिएको अर्को रोग पक्ष घात हो ।
धेरै जटिल रोगका रूपमा लिइने पक्ष घात पछिल्लो समय मानव जीवनका लागि चुनौती बन्दै गएको छ । चिकित्सकहरूका अनुसार मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ ।
स्वास्थ्यकर्मीले यसलाई नै पक्ष घात भन्छन् । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाको साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । स्वास्थ्यकर्मीहरू समेत यस रोगका विषयमा जानकार रहे पनि अनभिज्ञता दर्शाउँछन अर्थात् लापरबाही गर्ने गरेको देखिएको छ ।
अबको दिनमा सरकारले मात्रै होइन, स्वास्थ्यकर्मीले समेत आम जनतालाई पक्षघातको जटिलता, जोखिम, उपचारको व्यवस्था आदि समग्र विषयमा जानकारीमूलक कार्यक्रम प्रवाह गर्नु जरुरी छ ।
यद्यपि नेपालका चिकित्सकहरूले पक्ष घात सङ्घ स्थापना गरेर यो रोगका विषयमा धेरथोर काम गर्ने प्रयास नगरेको होइनन् । तर अव यतिले मात्रै अव पुग्दैन । अझै धेरै गर्नुपर्ने आवश्यकता छ । किनभने अव सरकार, स्वास्थ्यकर्मी र आम नागरिकले पक्षघातको चुनौतीको पहाड फोर्नुपर्ने बेला आएको छ ।
सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालमा पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।
पक्ष घात पछिल्लो समय एकदमै जोखिम बन्दै गएको छ ।
चिकित्सकहरूले पक्ष घात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै सकेसम्म यो रोगबाट बच्न आग्रह गर्दै आएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको हुन्छ ।
पक्ष घात भएको अवस्थामा यसबाट बच्न एकदमै चुनौतीको विषय भएकोले यसबाट सजग हुनु नै सबैभन्दा उत्तम हो । विश्व स्वास्थ्य सङ्गठनले समेत पछिल्लो समय पक्षघातको गम्भीर अवस्थाप्रति चिन्ता जनाएको छ ।
अबको दिनमा नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले पनि जोखिम नियन्त्रणमा समयमै ध्यान दिनु जरुरी छ । नेपालमा अहिले पक्ष घात भएकामध्ये १० देखि १५ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क स्वास्थ्य विभागले सार्वजनिक गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन अनुरोध गर्दै आएको छ । पक्ष घात नदेखिने रोग हो ।
आम नेपाली जनताले मुटु, मिर्गौला, फोक्सो र कलेजो तथा क्यान्सरलाई मात्रै रोग ठान्ने प्रवृत्ति छ । तर, पक्षघातको जोखिमको विषयमा धेरै जानकारी नभएको अवस्थामा भोलिको दिनमा यसबाट बच्ने उपाय र नियन्त्रणको खोजीतर्फ ध्यान दिनु आवश्यक छ ।
पक्ष घात दिवसकै अवसरमा नेपाल सरकार र स्वयं स्वास्थ्यकर्मीहरूले समेत आम जनतामाझ यसको जोखिमको विषयमा सचेतना फैलाउनेतर्फ ढिलाइ गर्नु हुँदैन । पक्ष घात पनि रोग हुन्छ र ?
भन्ने आम नेपाली मानसिकतामा परिवर्तन ल्याउन यसको जोखिम, उपचारमा ढिलाइ गर्दा उत्पन्न हुने असर र रोग नियन्त्रण तथा निराकरणको विषयमा सन्देश प्रवाह गर्नेतर्फ ध्यान जाओस् ।