© २०२३
लमही, १२ कार्तिक ।
सामाजिक सञ्जालमार्फत सुरु भएको सम्बन्ध अहिले एक परिवारका लागि पीडादायी घटनामा रूपान्तरण भएको छ ।
दाङको गढवा गाउँपालिका–६ निवासी आमा भावना हमाल र बुबा शिवराज हमालले आफ्नी १३ वर्षीया छोरी अस्मिता हमाललाई एक युवकले अपहरण गरी भारततर्फ लगेको आरोप लगाएका छन् । परिवारका अनुसार, असोज २३ गते साँझदेखि अस्मिता हराइरहेकी हुन् ।
अस्मिता गढवा जनता माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्दै आएकी थिइन् । परिवारले लगाएको आरोप कैलाली जिल्ला, जानकी गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका रबी विकले सामाजिक सञ्जालमार्फत सम्पर्क बढाउँदै अस्मितालाई फसाएर अपहरण गरेका हुन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय गढवालाई सोही रात जानकारी गराइए पनि खोजतलासमा ढिलाइ भएको भन्दै अस्मिताकी आमा भावनाले असन्तुष्टि जनाएकी छिन् । उनले पुलिस प्रशासनले प्रारम्भिक सहयोग गरे पनि ठोस खोजी प्रक्रिया अघि बढेको छैन ।
हाम्रो छोरी कहाँ छ भन्ने जानकारी छैन, डर लाग्छ कतै भारततर्फ लगेर बेचिदिने हो कि भन्ने भय छ । परिवारले रबी विकले छोरीलाई भारततर्फ लगेको दाबी गर्दै, सबै निकायसँग सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।
“जो कसैले रबी बिक वा उसको आफन्तलाई देख्नु भयो भने नजिकको प्रहरी कार्यालय वा प्रशासनलाई खबर गर्नुस्,” आमा भावनाको बिन्ती छ । उनले आफ्नो मोबाइल नम्बर ९७६३८९७२०५ सार्वजनिक गर्दै छोरीको सुरक्षाका लागि सघाउन सबैमा आग्रह गरिन ।
यो घटना सामाजिक सञ्जालमार्फत बालबालिका आकर्षित गरी दुरुपयोग गर्ने बढ्दो प्रवृत्तिको भयावह उदाहरणका रूपमा देखिएको छ । बालअधिकारकर्मीहरूका अनुसार, यस्ता घटना रोक्न अभिभावक, विद्यालय र प्रहरीबिच बलियो समन्वय आवश्यक छ ।
सामाजिक सञ्जालमा देखिने प्रत्येक ‘भेट’ वा ‘मैत्री’ बालबालिकाका लागि कहिलेकाहीँ फन्दामा परिणत हुन सक्छ । बालबालिकाको इन्टरनेट प्रयोगमा सचेत रहौँ ।