© २०२३
दाङ, १२ कात्तिक ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीले जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि विशेष मनोसामाजिक परामर्श सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रअनुसार बुधबारदेखि प्रतिष्ठानले औपचारिक रूपमा यो सेवा प्रारम्भ गरेको हो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई मानसिक रूपमा सशक्त बनाउन र मनोबल पुनः स्थापित गर्नका लागि छुट्टै क्लिनिक सञ्चालन गरिएको हो ।
मनोसामाजिक परामर्श सेवा प्रतिष्ठानको शिक्षण अस्पताल अन्तर्गत मानसिक रोग विभागका प्रमुख डा. सरोज उप्रेतीको संयोजनमा सुरु गरिएको छ ।
सो सेवामा मनोचिकित्सक डा. नितु बस्नेत, एमडिजिपी इमरजेन्सी विभागका डा. अमृतराज सुवेदी, र मनोसामाजिक परामर्शदाता मिना डिसी सम्मिलित टोलीले सेवा प्रदान गर्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
अस्पताल प्रशासनका अनुसार, यो सेवा घाइतेहरूको मनोबल र आत्मविश्वास पुनर्स्थापनामा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।