Butwal Today

दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा

१२ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, १२ कार्तिक ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको मागसहित मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलनको मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । उनका अनुसार बिचमा मानिसहरू अलमलमा परेकाले आन्दोलनको सुरुवातबारे स्पष्टता दिन आजै घोषणा गरिएको हो ।
प्रसाईंका अनुसार यो आन्दोलन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७५ जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ ।

प्रसाईंले आफूहरूको आन्दोलन शान्तिपूर्ण र गैरहिंसात्मक हुने स्पष्ट पारे । उनका शब्दमा, “यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर र व्यवसाय जलाउने होइन ।”

उनले यो अभियान पशुपति र माता दुर्गाको संरक्षण, साथै विदेशमा रहेका नेपाली युवाहरूलाई स्वदेश फर्काउने उद्देश्यसहित सञ्चालन हुने बताए ।

प्रसाईंका अनुसार मंसिर ७ गते नै भारतको दिल्लीमा राजनीतिक दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको दिन हो ।
उनले भने, “त्यही १२ बुँदे सहमतिका कारण देशमा राजसंस्था र हिन्दू अधिराज्य अन्त्य भयो, नेपालीहरू विदेश पलायन भए, र देश विदेशी इसारामा चल्ने एनजीओ–आईएनजीओहरूको अखडा बन्यो ।”

त्यसैले, मंसिर ७ गतेबाट सुरु हुने आन्दोलनलाई उनले “व्यवस्था परिवर्तनको निर्णायक चरण” को रूपमा चित्रित गरे । प्रसाईंले आन्दोलन सुरु हुन २० दिन बाँकी रहेको भन्दै नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य सामग्री पहिले नै संकलन गर्न आग्रह गरे ।

मानव अधिकार आयोगलाई पनि आन्दोलनबारे अग्रिम जानकारी दिइसकेको उनले बताए । उनले सम्पूर्ण नागरिक, पत्रकार, मानवअधिकारकर्मी, निजामती कर्मचारी र सुरक्षाकर्मीहरूलाई मंसिर ७ गतेदेखि आन्दोलनमा साथ दिन आह्वान गरे ।

प्रसाईंले आन्दोलनका क्रममा तोडफोड वा हिंसात्मक गतिविधि भएमा त्यसको जिम्मेवारी महाअभियानको नहुने स्पष्ट गरे । उनका अनुसार, यदि कसैले बन्द उल्लंघन गरेर पसल खोल्दा वा गाडी चलाउँदा तोडफोड भयो भने त्यो व्यक्तिगत घटना हुनेछ । चैत १५ गतेको घटनामा घुसपैठ भएको दाबी गर्दै उनले आफ्नो अभियानको लक्ष्य “कसैको घर वा सम्पत्ति जलाउने होइन” भन्ने दोहोर्‍याए ।

मिडियामा सरकार वार्ताका लागि तयार भएको र आफूलाई नियन्त्रणमा लिने सम्भावना रहेको खबरबारे प्रसाईंले भने, “म भाग्ने मनस्थितिमा छैन, अब नभाग्ने निर्णय गरेको छु ।” मानव अधिकार आयोगका अध्यक्षले पनि ‘तपाईंले उठाउनुपर्ने माग हामीले उठाउनुपर्ने हो दुर्गाजी’ भनेको उनले दाबी गरे ।

उनले मङ्सिर ७ गतेदेखि व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन नहुने भन्दै सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, र देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आह्वान गरे। उनले निजामती कर्मचारी र प्रहरीलाई पनि मङ्सिर ७ गतेदेखि बिदा बस्न अनुरोध गरे ।

अन्तमा उनले पत्रकार सम्मेलन गरेर केही कुराहरू सार्वजनिक गर्ने तयारी रहेको बताए ।