© २०२३
सल्यान, ११ कार्तिक ।
दैवीय शक्ति रहेको धार्मिक विश्वास र ऐतिहासिक पर्यटकीय क्षेत्रको रूपमा परिचित सल्यानको सातामुल बराहमा पछिल्लो समय दर्शनार्थी एवं पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
पूर्वाधार विकास सँगै संरक्षण कार्य र प्रचारप्रसारको प्रयासपश्चात् जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङस्थित पहाडको काखमा स्वच्छ वातावरण एवं प्राकृतिक सौन्दर्यताले सजिएको सातामुल क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लो हुँदै गएको हो ।
सात वटा पानीको मूल रहेको यस क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । सातामुल वराह क्षेत्रलाई विकास गर्ने उद्देश्य अनुरूप विगतदेखि नै स्थानीयहरू लागेका थिए ।
पछिल्लो समय यसको संरक्षण, विकासका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले पनि चासो देखाएका छन् । सातामुल क्षेत्रको संरक्षण, विकासका लागि विभिन्न व्यक्ति, समूहले आफ्नो जन्मदिन वा यस्तै सुखद अवसरमा दान सहयोग निरन्तर गरिरहेको सातामुल क्षेत्र संरक्षण समितिका संयोजक तथा कपुरकोट, ६ का वडा अध्यक्ष श्यामकृष्ण बोहराले जानकारी दिए ।
उनका अनुसार भर्खरै सकिएको तिहारमा स्थानीयले देउसी भैलो खेलेर सङ्कलन भएको रकम समेत सातामुल क्षेत्र संरक्षण कोषमा जम्मा गरेका छन् । दान रकम सहयोग बापत दुई लाख बढी रकम जम्मा भैसकेको बताइएको छ ।
सातामूल क्षेत्रको विकासका लागि पछिल्लो पटक मात्रै करिब साढे एक करोड लगानी भइसकेको छ । गाउँपालिकाबाट पहिले पाँच लाख, त्यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडाको पहलमा ३० लाख र सङ्घीय सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको थियो ।
यहाँ शिव मन्दिर, वराहाथान मन्दिर, विवाह तथा पूजा मण्डप, मुख्य पूजा स्थान, स्नान गर्ने ठाउँ र स्नान कुण्ड, शिवको मूर्ति, देवीको मूर्ति, साँढेको मूर्ति, कृष्ण मूर्ति, शिव लिङ्ग, वराहको मूर्ति लगायतका धार्मिक संरचनाहरू निर्माण भएका छन् ।
यस्तै सातामूल क्षेत्रको घेरबार तथा पर्खाल, दुई ठाउँमा गेट, खेलमैदान, शौचालय, बालबालिका खेल्ने संरचना, बस्ने बेन्चहरू पनि निर्माण गरिएको छ । अब चर्खे पिंग निर्माण र अन्य पूर्वाधार विकास एवं संरक्षणको कार्य अगाडि बढाइने समितिले जनाएको छ ।
सातामूल वराह क्षेत्रलाई स्थानीयहरूले आफ्नो धार्मिक विश्वासको रूपमा लिन्छन् । धेरै जना मानिसहरू यहाँ सन्तान प्राप्तिका लागि आउने गरेको र यहाँ दर्शन, पूजा अर्चना गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास रहेको वडा अध्यक्ष बोहराको भनाइ छ ।
विगतमा बुढापाकाहरूले विभिन्न ठाउँमा विनाशकारी महामारी तथा प्रकोप आउँदा सातामूलमा पूजाआजा गर्दा सङ्कट टर्ने गरेको छ ।
वडा कार्यालयका अनुसार पछिल्लो समय यहाँ दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको छ ।
जिल्लाका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला रोल्पा, दाङ, प्युठानबाट समेत मानिसहरू आउने गरेको भएता पनि अझै सातामूलको प्रचारप्रसारको खाँचो रहेको वडाध्यक्ष बोहराको भनाइ छ ।
राप्ती राजमार्गको त्रिवेणी गाउँपालिका स्थित टुनी बोटबाट सातामूलसम्म पुग्नका आठ किलोमिटर मात्रै रहेको छ भने कपुरकोटको सोलाबाङबाट १३ किलोमिटर रहेको छ । सडकको अवस्था कच्ची भएता पनि गाडी सहजै रूपमा पुग्न सक्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।