© 2026
दाङ, ११ कात्तिक ।
सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा दाङका व्यवसायीले धान खरिद गरिरहेका छन् ।
घोराही उपमहानगरपालिका –६ का किसान श्रीराम चौधरीले १० कुन्टल मोटो धान दुई हजार ५ सय रुपैयाँ क्विन्टलमा बिक्री गरेका छन् । धान खेती गर्ने किसानको मेहनत, मल, बीउमा लगाएको लगानीसमेत नउठ्ने अवस्था रहेको उहाँले गुनासो गरे ।
ट्र्याक्टरले खेत जोतेको, खेताला लगाएर धान काटेको र थ्रेसरले दाएको पैसा पनि नउठ्ने भयो । “वर्षभरिको खर्च धान बेचेको पैसाले चल्ने गरेको थियो । धानको मूल्य नपाउँदा मेहनत र लगानी सबै खेर गयो”, उनले भने , ।
घोराही उपमहानगरपालिका -९ का किसान दलबहादुर केसीले व्यापारीले तोकेका मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । खेतबाट बिक्री गर्दा मोटा धान दुई हजार पाँच सय रुपैयाँ कुन्ट्लका दरले बिक्री गरेको बताए केही महिना पछि महँगो जान्छ भन्छन् तर आफ्नो धान राख्ने ठाउँ नभएकाले खेतीबाटै बिक्री गर्नुपरेको उनी बताउँछन् ।

किसानले महँगो बीउ , मल र खेताला लगाएर खेती गर्नुपर्छ धानको मूल्य व्यापारीले गर्दा सधैँ मर्का पर्ने गरेको उनी बताउँछन् । लमही नगरपालिका–१ का किसान सरिता चौधरीले १८ कुन्टल मोटा धान दुई हजार पाँच सय रुपैयाँमा बिक्री गरेको बताइन् ।
यसपालि खेती गर्ने समयमा राम्रो पानी परेकाले उत्पादन बढेको थियो तर बिक्री गर्दा मूल्य नपाउँदा लागत पनि नउठ्ने चिन्ता बढेको उनको भनाइ छ । मुख्य आम्दानी भनेको धान खेती हो, धान खेतीमा लागेको लागत अनुसारको मूल्य नपाउँदा खर्च धान्न मुस्किल परेको चौधरी बत्ताउँछिन् ।
स्थानीय व्यवसायीले किसानबाट मोटो धान बढीमा दुई हजार ५ सय रुपैयाँ क्विन्टल र मसिनो धान बढीमा तीन हजार १ सय रुपैयाँ क्विन्टलमा खरिद गर्ने काम भइरहेको कक्ष पति राइसमिल लमहीका म्यानेजर मदन अधिकारीले बताए । उनले भने , “किसानसँग महँगोमा किनेर बिक्री गर्दा मूल्य नजाने भएकाले सरकारले तोकेको मूल्य दिन नसकेको हो । ”
नेपाल सरकार मन्त्रिपरिषद्को गएको साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
धान खरिद गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष अहिलेसम्म धान खरिद गर्न डिपो सञ्चालन गरेको छैन । लिमिटेडका सूचना अधिकारी शक्तिराम डाङीले कम्पनीलाई कति धान खरिद गर्ने भन्ने खबर नआएको बताए ।
गत वर्ष दाङको गढवा गाउँपालिकाबाट धान खरिद गरेको थियो । यो वर्ष राप्ती गाउँपालिकाबाट पनि धान खरिद गर्ने तयारी भइरहेको उनले बताए । खाद्यले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्ने तयारी रहेको उनले बताए ।
दाङका सबै किसानको धान खाद्यले खरिद गर्न नसक्ने भएकाले किसानले स्थानीय व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् ।