© २०२३
काठमाडौं, ११ कात्तिक ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयारी तीव्र पारेको छ । हिमाली क्षेत्रमा सो समयमा हिमपात हुन सक्ने भएकाले आयोगले त्यसअनुसारका व्यवस्था मिलाउन लागेको हो ।
सामान्यतया फागुन महिनामा हिमपात हुने भएकाले आयोगले अग्रिम तयारी थालेको जनाएको छ । तर, यसका लागि आयोगले अहिलेसम्म मौसमविद् वा मौसम विभागसँग औपचारिक सल्लाह लिएको छैन ।
हिमाली क्षेत्रमा मौसमका कारण निर्वाचन गराउन कठिनाइ हुन सक्ने अनुमान गर्दै आयोगले हेलिकोप्टरको व्यवस्था गर्न लागेको हो । मौसम खुलेका बेला कर्मचारी र निर्वाचन सामग्री पठाउने गरी हेलिकोप्टर प्रयोग गर्ने योजना आयोगले बनाएको छ ।
आयोगले निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानसहितको बजेट तयार गरेको छ । उक्त बजेटमा सामग्री खरिदका साथै आकस्मिक व्यवस्थापन शीर्षकमा समेत रकम छुट्याउने तयारी गरिएको छ ।
आकस्मिक व्यवस्थापनका लागि छुट्याइएको रकम मुख्यतः हेलिकोप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्ने कार्यमा प्रयोग हुने आयोगले जनाएको छ ।
त्यस्तै, आयोगले बजेट निर्माणसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ । चाडपर्व सकिएकाले अब आवश्यक सामग्री खरिद सुरु गर्ने तयारी गरिएको छ । यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल अघि बढाएको छ ।
आयोगका अनुसार, विगतमा प्रयोगमा आएका सामग्री पुनः प्रयोग गर्दै थप आवश्यक सामग्री खरिद गर्ने योजना पनि बनाइएको छ ।