© २०२३
निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधी ६ वर्ष बितिसक्दा पनि अझै पक्राउ परेका छैनन् ।
यो घटना अव विस्मृत हुन थालेको छ तर विडम्बना निर्मला पन्तको हत्याको घटनालाई बिर्साउने अर्को दुःखद र ह्दयविदारक घटना मोरङको लेटाङमा भएको छ । ‘पिङ खेल्न जान्छु’ भन्दै गत असोज २१ गते घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।
शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्रा टुक्रा पारेको हुनसक्ने आशङ्कालाई बल मिलेको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो ।
लेटाङकी अंशुको भने लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा १८ दिनपछि शव क्षतविक्षत र टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला प¥यो ।
परिवारका अनुसार अंशुको मुस्कानसहितको अन्तिम जवाफ ‘पिङ खेल्न जान्छु’ भन्ने नै उनको जीवनको अन्तिम संवाद बन्न पुग्यो । उनको शव कुहिएर छरिएको अवस्थामा फेला परेको छ । शवको पहिचान गर्नसमेत मुस्किल हुनु भनेको निर्मला पन्तको हत्याको घटना समेत बिर्साउने आततायी यो घटना भएको छ ।
घटना भएको दुई साता पूरा हुँदा पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् तर घटनाको प्रकृति हेर्दा आशङ्का गर्ने आधारहरू प्रशस्त छन् । कहीँ अंशुको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् ।
नेपालीहरू नरभक्षी बन्दै गरेको पछिल्ला केही उदाहरणले देखाउन थालेका छन् । नेपालीहरूमा मानवीयता हराउँदै गएको छ । अपराध मनोवृत्ति बढ्दै गएको पछिल्लो अंशु गौतमको हत्या घटनाले पुष्टि गरेको छ ।
प्रहरीले घटनास्थलको प्रकृति, कपडाहरू शरीरबाट अलग भेटिनु र शवको तल्लो भाग नग्न अवस्थामा हुनुले बलात्कारपछि हत्या भएको जनाएको छ । शव अत्यधिक कुहिएर र अङ्गहरू छरिएर रहेकोले अनुसन्धान जटिल बनेको प्रहरीको भनाई छ ।
प्रहरीले यो भन्दैमा यो बीभत्स हत्याको घटनालाई ढाकछोप गर्न मिल्दैन । तसर्थ तत्काल अनुसन्धान अघि बढाएर यो कुकर्म अपराधमा संलग्नमाथि छानबिन गरोस् र कानुनको कठघरामा उभ्याउन ढिलाइ नगरोस् । यो घटनामा संलग्न अपराधी सजायबाट बच्न प्रमाण लुकाउन र अनुसन्धानलाई नै दिग्भ्रमित पार्न शव क्षतविक्षत बनाएको हुन सक्छ ।
अतः यो गम्भीर प्रकृतिको अपराधको घटनाको अनुसन्धान छिटो गरोस् । एउटी निर्दोष बालिकामाथि भएको यो स्तरको क्रूरताले समाज त्रसित र मर्माहत बनेको छ । निर्मला पन्तको हत्यालाई पनि चुनौती दिने अंशु गौतमको हत्या प्रकरणले समाजलाई विक्षिप्त बनाएको छ ।
उता निर्मला पन्तको परिवारले आफ्नी छोरीको हत्यारा पत्ता लगाउन अहिलेसम्म पनि विभिन्न दबाबमूलक आन्दोलन गरिरहेका छन् । यसअघि गृह मन्त्रालय सम्हालेका रामबहादुर थापा, रवि लामिछाने, रमेश लेखक लगायतका मन्त्रीहरूले निर्मला पन्तको हत्याको छानबिन गरी अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए तर उनीहरूको प्रतिबद्धता हावासरी उडेको छ ।
विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गम्भीर ढंगले दोषी पत्ता लगाउन र कारबाहीमा ढिलाइ तथा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यमय वनेको हो भन्दा अत्युक्ति हुँदैन । अबपनि निर्मला पन्तको हत्याको नियति र अनुसन्धानको दुष्चक्र १३ बर्षीया अंशु गौतम र उनको परिवारले भोग्नु नपरोस् ।
अव उनको विभत्स हत्याको छानविनमा कुनै कसर बाँकी नहोस् । निर्मला पन्त र अंशु गौतमको हत्याको श्रृंखला र घटनाका कारकको खोजी हुनु जरुरी छ । आजपनि निर्मला पन्तका पिता न्यायको खोजीमा प्रहरी प्रशासनको ढोका ढकढकाउँदै छन् ।
उनलाई ‘दिमागी’ सन्तुलन गुमाएका व्यक्तिको रूपमा चित्रित पनि गरियो । वास्तवमा यो अत्यन्त क्रुर र दुःखद टिप्पणी थियो । अव अंशु गौतमको नृशंस हत्याको घटनामा संलग्न दोषी जो कोही होस, अनुसन्धानको कठघरामा ल्याउनैपर्दछ । निर्मला पन्त र अंशु गौतमको नियति अव अरू कुनै बालिकाहरू कसैले पनि भोग्नु नपरोस् ।