Butwal Today

भैलोको रकमले राजमार्ग मर्मत: नवज्योति युवा क्लबको उदाहरणीय पहल

११ कार्तिक २०८२, मंगलवार
अ+
अ-

लमही, ११ कार्तिक ।

लमही नगरपालिका–७ का नवज्योति युवा क्लबका युवाहरूले भैलो खेलेर सङ्कलन गरिएको रकमबाट पूर्व–पश्चिम महेन्द्र राजमार्गको खाल्डाखुल्डी मर्मत गरेका छन् ।

सडकका खाल्डाखुल्डीका कारण बारम्बार दुर्घटना हुने अवस्थालाई ध्यानमा राख्दै युवाहरूले स्वैच्छिक रूपमा मर्मत कार्य अघि बढाएका हुन् । स्थानीयहरूका अनुसार युवाहरूको यस कार्यले केही हदसम्म दुर्घटना न्यूनीकरणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । उनीहरूले राजमार्गको विभिन्न स्थानमा बालुवा, गिट्टी र माटो प्रयोग गरी खाल्डाखुल्डी पुर्ने काम गरेका छन् ।

नवज्योति युवा क्लबका अध्यक्षले राजकुमार चौधरीले भने, “हाम्रो उद्देश्य केवल मर्मत गर्ने मात्र होइन, समाजमा ‘हामीले पनि गर्न सक्छौँ’ भन्ने सोच फैलाउनु हो ।” भैलोको रकमलाई जनकल्याणकारी कार्यमा प्रयोग गर्दै युवाहरूले देखाएको सामाजिक उत्तरदायित्वले स्थानीय तहमा सामुदायिक सहकार्य र नेतृत्वको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।