Butwal Today

राप्तीमा स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसी भैलो महोत्सव हुने

११ कार्तिक २०८२, मंगलवार
अ+
अ-

लमही ,११ कार्तिक ।

दाङको राप्ती गाउँपालिकाले स्थानीय मौलिक कला,संस्कृति, परम्परा,भेसभुसा र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले “स्थानीय खाद्य परिकार प्रदर्शनी तथा देउसी भैलो महोत्सव–२०८२” आयोजना गर्ने भएको छ ।

गाउँपालिकाको आयोजनामा हुने सो कार्यक्रम आगामी कार्तिक १४ गते बिहान ११ बजेदेखि सुरु हुने भएको हो । महोत्सव राप्ती गाउँपालिका–३, मसुरियामा रहेको कृषि हाटबजारको उत्तरतर्फ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

महोत्सवमा गाउँपालिकाभित्र उत्पादन भएका विभिन्न पोषणयुक्त खाद्य परिकारहरू

भुटेको मकै, भटमास, सिन्की , कोदो/फापरको रोटी, बदाम, तरुल , मासको खरिया, ढिक्री, बटुक, केरा, मेवा, उखु, बधिया भालेलगायतका परिकारहरूको प्रदर्शनी र बिक्री वितरण गरिनेछ । साथै, स्थानीय मौलिक कला, संस्कृति, भेषभूषा झल्कने देउसी भैलोका विविध सांस्कृतिक प्रस्तुति पनि रहने छ ।

स्थानीय मौलिक कला,संस्कृति, परम्परा,भेसभुसा सँगै पोषणयुक्त खाद्य बस्तुहरूको प्रवर्द्धन गरि आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले  सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

त्यसै गरी, महोत्सवमा स्टल दर्ता गर्न इच्छुक व्यक्ति, संस्था तथा समूहहरूलाई कार्तिक १२ गतेसम्म दर्ता गर्न आग्रह गरिएको छ । स्टल दर्ताका सूचना  जारी गरिएको स्टल  दर्ता संयोजक सुवास भट्टराईले बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महोत्सवले गाउँपालिकाको मौलिकता, ऐक्यता र सांस्कृतिक गौरवलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।