© २०२३
लमही, ११ कार्तिक ।
लुम्बिनी प्रदेशको देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंगलबार बिहान विशेष अन्तरक्रियाको केन्द्र बन्यो । सुशासन र विकास सहकार्यका विषयमा केन्द्रित यो भेटवार्तामा प्रदेशका मुख्यमन्त्री दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङ बिच भेटवार्ता भएको छ।
भेटमा प्रदेश स्तरमा सुशासन सुदृढीकरण, सङ्घीयता कार्यान्वयन र विकास साझेदारीका विषयमा विस्तृत छलफल भयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सङ्घीयताको आत्मालाई मूर्तरूप दिन र जनताको जीवनस्तर सुधारतर्फ गम्भीरतापूर्वक लागिपरेको बताए ।
“सङ्घीयता सुदृढ पार्दै सुशासनलाई जीवन्त बनाउने हाम्रो प्रमुख लक्ष्य हो,” उनको भनाइ थियो । उनले प्रदेश र स्थानीय तहले आफ्ना कार्यक्रमहरू कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल–बेलायतबिचको ऐतिहासिक मित्रताको चर्चा गर्दै पछिल्ला राजनीतिक रूपान्तरणले प्रशासनिक र भौतिक संरचनामा नयाँ चुनौती निम्त्याएको औँल्याए । “यी चुनौतीबिच पनि हामी दीर्घकालीन स्थायित्व र नीतिगत निरन्तरताको पक्षमा छौँ,” उनले जोड दिए।
प्रदेशको आर्थिक अवस्थाबारे जानकारी दिँदै मुख्यमन्त्रीले चालू आर्थिक वर्षमा २० प्रतिशत बजेट कटौती गर्नुपरेको उल्लेख गरे । तर, जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमहरूमा कटौती नगरिएको उनको भनाइ थियो ।
सुशासन प्रवर्द्धन र पारदर्शिता सुनिश्चित गर्न प्रदेश सरकारले पाँच वर्षे रणनीतिक तयार गरेको र पाँच लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने नीति लिएको उनले बताए । “पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन देखिनेछ,” मुख्यमन्त्रीको विश्वास थियो ।
युवाहरूका आवाज र मागहरू नीति निर्माणमा समावेश गर्न प्रदेश सरकारले प्रमुख सचिवको संयोजकत्वमा युवा सुझाव समिति गठन गरेको पनि उनले जानकारी दिए ।
त्यसैबिच, बेलायती प्रतिनिधि एन्ड्रु लङले नेपाल–बेलायतबिचको मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र दोस्रो आवधिक योजनामा बेलायती सहयोग निरन्तर रहने बताए ।
भेटमा प्रदेश सरकारका सचिव नेपाल सहितका अधिकारीहरूको उपस्थिति थियो । यो भेटलाई प्रायः पर्यवेक्षकहरूले “सङ्घीय अभ्यासमा अन्तर्राष्ट्रिय साझेदारीको नयाँ अध्याय” भनेर अर्थ्याएका छन् ।