© २०२३
काठमान्डौ, ११ कार्तिक ।
सुनकोसी गाउँपालिका–६, चैनपुरस्थित बीपी राजमार्गमा मंगलबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गर्दा बिहान करिब ११:१५ बजे सडकबाट करिब ४२ फिट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक अर्जेललाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा १२:२० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।
दुर्घटनामा अर्जेलकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् । सुनिताको दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।
घाइते दुबै जनालाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक रामकाजी कार्की र सहायक प्रहरी निरीक्षक धर्मराज फुयालको कमाण्डमा संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घाइतेको तत्काल उद्धार गरी आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा पुर्याएको बताएको छ । दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।