© २०२३
काठमान्डौ, ११ कार्तिक ।
सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्ला दिनमा प्रधानमन्त्री सुशीला कार्कीलाई दोस्रोपटक भेटेका छन् । संघीय सरकारप्रति चिसो व्यवहार देखाउँदै आएका उनी यसपटक एक्लै बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार भेटमा बालेनले प्रधानमन्त्री कार्कीसामु चार बुँदे सरोकार राखेका थिए ।
एक, जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने ।
दुई, दुर्गा प्रसाईलाई पक्रेर उनका गतिविधि नियन्त्रण गर्नुपर्ने । तीन, सरकारका मन्त्रीहरुको समग्र कार्यक्षमता र गतिमा ढिलाई, जेनजी मन्त्री चयन ।
चार, गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाई । गणपतिलाल श्रेष्ठको नामबारे चासो ।
प्रधानमन्त्री कार्कीले भने बालेनका प्रस्तावहरू सुन्दै आन्दोलनको भावना र कानुनी दायराबीच सन्तुलन कायम गर्नुपर्ने बताइन्।
‘आन्दोलनको भावना सम्बोधन गर्दा कानुन बिर्सन हुँदैन, कानुन हेर्दा युवाको माग पनि नजरअन्दाज गर्न मिल्दैन,’ उनले बालेनलाई भनिन्।
उनका अनुसार ओली, लेखक वा अन्य जोसुकैमाथि कारबाही गर्नका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोग बनेको हुँदा त्यसलाई जाँचबुझको अवसर दिनु आवश्यक छ ।
भेटमा बालेनले हालै पुनः आन्दोलनको तयारी भइरहेकामा चासो व्यक्त गर्दै दुर्गा प्रसाईलगायतका समूहहरू सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेको बताए ।
प्रसाईले सरकारलाई “बाह्य इशारामा चलेको” भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका प्रसङ्गमा बालेनले तुरुन्त निगरानी र नियन्त्रणको माग गरे ।
तर कार्कीले कानुनी सीमाका कारण केवल बोलाइका आधारमा गिरफ्तारी गर्न कठिनाइ हुने बताउँदै संयम अपनाउन आग्रह गरिन् ।
बालेनले प्रधानमन्त्रीलाई सरकारका मन्त्रीहरूमा राजनीतिक संक्रमण व्यवस्थापन गर्ने हतारो नदेखिएको गुनासोसमेत गरेका थिए ।
त्यस क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनको कार्यशैली कमजोर रहेको टिप्पणी गरे ।
विगतमा बालेनकै पहलमा कानुनी सल्लाहकार बनेका अर्याललाई पछि मन्त्री बनाइएको चर्चा भए पनि, स्रोतका अनुसार, कार्कीकै पहलमा उनी मन्त्री बनेका थिए ।
अर्यालले पनि आफू ‘प्रधानमन्त्रीको सल्लाहकार’ मात्रै बन्न चाहेको तर परिस्थितिले मन्त्री बनाएको बताएर असन्तुष्टि प्रकट गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठकमा अर्यालकै योगदानका कारण आफू प्रधानमन्त्री बन्न सफल भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेपछि बालेनले आफूलाई उपेक्षित महसुस गरेको बताइन्छ ।
बालेन–कार्की भेटका क्रममा जेनजी आन्दोलन पक्षबाट मन्त्रीको नाम सिफारिस भइसकेको तर नियुक्ति नभएको अवस्था थियो ।
सरकारले गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारका नाम अघि बढाउने तयारी गरिरहेको थियो ।
बालेनले विशेषगरी गणपतिलाल श्रेष्ठसँग महानगरका कतिपय काममा समन्वय नहुँदा समस्या देखिएको भन्दै विवादित पृष्ठभूमि भएका व्यक्तिबारे पुनः मूल्यांकन गर्न सुझाव दिएका थिए ।
भेटको अन्त्यतिर बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने चेतावनीसमेत दिएका थिए ।
तर प्रधानमन्त्री कार्कीले कानुनी प्रक्रिया, राजनीतिक सन्तुलन र आन्दोलनको भावनाबीच सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।