© २०२३
काठमान्डौ, ११ कार्तिक ।
जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपित व्यक्तिमध्ये क्रिकेट प्रशिक्षण लिँदै आएका युवक संलग्न रहेको तथ्य खुलेको छ ।
काठमाडौंस्थित एक क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर तालिम लिएका अनुपम भण्डारी हत्या घटनामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको हो ।
कैलालीको लम्मीचुहा नगरपालिका–४ निवासी १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उनीसहितको समूहले भदौ २४ गतेको आन्दोलनका क्रममा सहायक हवल्दार गुरुङमाथि आक्रमण गरी हत्या गरेको ठहर प्रहरीले गरेको छ ।
भण्डारीले बयानमा आफू करिब तीन महिनाअघि भारतको बैंगलोरस्थित क्रिकेट एकेडेमीमा दुई हप्ते प्रशिक्षण लिएर नेपाल फर्किएको खुलाएका छन् । काठमाडौं फर्किएलगत्तै उनी शान्तिनगरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेका थिए ।
उनका अनुसार, भदौ २३ गते विद्यार्थीको गोली लागेर मृत्यु भएको घटनाले आफू गहिरो आक्रोशमा पुगेको र त्यसको केही दिनपछि भएको आन्दोलनका क्रममा प्रहरीमाथि रिसको आवेगमा प्रहार गरेको स्वीकार गरेका छन् । उनका भनाइअनुसार, उनले चक्कु प्रहार गरेपछि अन्य आन्दोलनकारीले प्रहरीलाई घिसार्दै लगेको दृश्य उनले पनि देखेका थिए ।
प्रहरीले सार्वजनिक भिडिओ फुटेजको आधारमा भण्डारीलाई पहिचान गरी पक्राउ गरेको हो । पक्राउका क्रममा उनको घरबाट घटनाका बेला लगाइएको कपडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
घटनामा कास्की घर भएका सहायक हवल्दार गुरुङको विभत्स हत्या भएको थियो । कोटेश्वरस्थित प्रहरी प्रभाग आन्दोलनकारीको मुख्य निशानामा परेपछि प्रहरीहरू ज्यान जोगाउन कार्यालय छाडेर भाग्न बाध्य भएका थिए । भाग्ने क्रममा गुरुङमाथि धारिलो हतियारले प्रहार गरिएपछि उनी ढले र आन्दोलनकारीहरूले कुटपिट गर्दै उनको हत्या गरेका थिए ।
गुरुङले नौ महिनाअघि आमा गुमाएका थिए । उनका सात महिनाका छोरा, श्रीमती र ६० वर्षका वृद्ध पिता कास्कीमा बस्दै आएका छन् । परिवारको एकमात्र सहारा रहेकाले गुरुङको मृत्युले उनीहरूको जीवन असह्य बनेको छ ।
प्रभागमा कार्यरत ५९ प्रहरीमध्ये १३ जना आन्दोलनका क्रममा घाइते भएका थिए । आन्दोलनकारीहरूले कार्यालयमा आगजनी र तोडफोड गर्दै बर्दी र हतियार लुटेका थिए ।
जेनजी आन्दोलनका क्रममा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।