© २०२३
काठमान्डौ, १० कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिंदै डा. लोहनीले मन्त्रीहरूले पारदर्शिता नदेखाएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, “जेन–जी आन्दोलन र बलिदानको एउटा प्रमुख माग भ्रष्टाचारविरुद्ध सरकारी सक्रियता हो । यो मागप्रति सरकार सचेत छ भन्ने कुरा स्पष्ट पार्नका लागि मन्त्रीहरूले नेपालभित्र र बाहिर कति सम्पत्ति राखेका छन् भनेर जनतासामु खुला हुने हिम्मत किन देखाउँदैनन् ?”
यो सहितका चार बुँदे प्रश्न लोहनीले सरकारलाई गरेका छन् :
१. प्रधानमन्त्री सुशीलाजीको शाासनको एक महिना पुगिसक्यो । भ्रष्टाचारविरुद्ध अभियानप्रति इमान्दार भएको देखिनको लागि पनि कम से कम सरकारमा एक महिना भन्दा बढी मन्त्री भएका सबैको सम्पत्ति विवरण जनतासामू पेस गर्नु पर्ने होइन र ?
२. जेनजी आन्दोलन र बलिदानको एउटा माग भ्रष्टाचारविरुद्ध सरकारी सक्रियता हो। यो मागप्रति सरकार सचेत छ भनेर प्रष्ट पार्न पनि मन्त्रीहरूको नेपाल र नेपाल बाहिर कति सम्पत्ति छ भनेर जनतासामु खुला भएर आउने हिम्मत किन नभएको ?
३. दलका नेताहरूको सम्पत्ति छानबिन आयोग किन गठन गर्न नसकेको ?
४. सम्माननीय सुशिला कार्कीजी भ्रष्टाचारविरुद्ध कठोर व्यक्तित्य भन्ने धेरै को विश्वास छ । तर ऐले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने ठूला ठूला भ्रष्टाचारका फाइल पनि अब फेरि शक्तिमा आउन पाइन्छ कि भन्नेहरूको इसारामा निष्क्रिय भएर बसेको हल्ला व्याप्त छ । प्रधानमन्त्रीको ध्यान जाओस् जनता धेरै समय चुपो लाग्ने छैनन् ।