© २०२३
काठमान्डौ, १० कार्तिक ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको तीन हप्ता बितिसक्दा पनि जम्मा दुई राजनीतिक दल मात्र अध्यावधिक भएका छन् ।
जेन–जी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २७ गते जननिर्वाचित संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गरेको थियो ।
आयोगको वेबसाइटमा उपलब्ध अद्यावधिक सूचीअनुसार असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी दर्ता भएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा हुन् भने जनस्वराज पार्टीको नेतृत्व दीपक कुमार साहले गरेका छन् ।
आयोगले निर्वाचनमा सहभागी हुन चाहने दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय तोकेको छ । विद्यमान कानुनी व्यवस्था अनुसार आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता नवीकरण गर्न पाउनेछन् । यसका लागि इच्छुक दलहरूले कात्तिक ३० गतेभित्र दल दर्ता प्रमाणपत्र प्राप्त गरिसक्नुपर्नेछ ।
हालसम्म आयोगमा १२४ राजनीतिक दल अद्यावधिक दर्ता भएका छन् । निर्वाचन घोषणा पश्चात् थप ६ वटा दलले दर्ता निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निवेदन दिने दलहरूमा — श्रम संस्कृति पार्टी ९हर्क साम्पाङ राई नेतृत्व०, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेन–जी पार्टी रहेका छन् ।
भट्टराईका अनुसार श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टीको दर्ता प्रक्रिया जारी छ भने नेपाल लिभरल पार्टीले आवश्यक विवरण ९अनुसूची–३० पेश नगरेको र राष्ट्रिय जेन–जी पार्टीले विधान लगायतका कागजातमा टिप्पणीसहित फाइल टिपोटको अवस्थामै रहेको छ ।
