Butwal Today

आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न मन्त्री पुनको आग्रह

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, १० कार्तिक ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि प्रकारका औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक सन्देश जारी गर्दै मन्त्री पुनले विशेषतः उद्घाटन, शिलान्यास तथा प्रमुख अतिथिको रूपमा गरिने निम्तोहरू नपठाउन अनुरोध गरेका हुन् ।

उनले आफ्नो सम्पूर्ण समय र ऊर्जा काममा समर्पित गर्न चाहेको उल्लेख गर्दै अनावश्यक औपचारिकतामा समय खर्च गर्न नचाहने स्पष्ट पारेका छन् ।

मन्त्री पुनले आफू युनेस्कोको उज्बेकिस्तानमा हुने महासभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत नगएको उल्लेख गर्दै, मन्त्रीहरू अत्यावश्यक र नगई नहुने कामका लागि मात्र विदेश जाने स्पष्ट पारेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका वैज्ञानिक पुन मन्त्री नियुक्त भएपछि आफ्नो फरक कार्यशैलीका कारण निरन्तर चर्चामा छन् ।