© २०२३
काठमाडौं, १० कात्तिक ।
गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुर पुगेका छन् । शान्ति सुरक्षाको अवस्था र आगामी चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन उनी मधेश प्रदेशको जनकपुर पुगेका हुन् ।
जनकपुरमा उनले भोलि मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । मन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा रहेका छन् ।
गृह मन्त्रालयका स्रोतका अनुसार, मन्त्री अर्यालले भोलि नै धनुषा जिल्लाभरीका सरकारी कार्यालय प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेका छन् । छलफल जिल्ला प्रशासन कार्यालय, धनुषामा हुनेछ ।
त्यस्तै, मन्त्री अर्यालसँगै उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि जनकपुर भ्रमणमा सहभागी छन् ।
भ्रमणका क्रममा टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन गर्ने, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने र छठ पर्वसम्बन्धी कार्यक्रममा सहभागी हुने बताइएको छ ।
मन्त्री अर्यालसहितको टोली मंगलबार बेलुका काठमाडौं फर्कने तालिका रहेको छ ।