© २०२३
सुनवल, १० कार्त्तिक ।
पश्चिम नवलपरासीको सुनवलमा आयोजना मङ्सिर १० गते देखि पाँचौँ सुनवल महोत्सव हुने भएको छ ।
आइतबार आयोजक सुनवल उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव बारे जानकारी दिएको छ । मङ्सिर २१ गते सम्म सञ्चालन हुने महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमिकता दिइने भएको छ ।
विगत जस्तै सोमनाथ बजार क्षेत्रमा सञ्चालन हुने महोत्सवमा महिला उद्यमीका लागी निःशुल्क स्टल उपलब्ध गराइने भएको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्दे स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्टल उपलब्ध गराउन लागिएको सङ्घका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
सुनवल र आसपासका क्षेत्रमा महिलाहरूले विभिन्न घरेलु उद्योग सञ्चालन गर्दे आएकाले ती उद्योग बाट उत्पादित वस्तुको बजारीकरणका लागी मेलामा प्राथमिकता दिइने सङ्घले जनाएको छ ।
महोत्सवमा ३० वटा स्टल महिला उद्यमीहरूका लागि निःशुल्क उपलब्ध गराइने छ । निःशुल्क स्टल राख्नका लागि महिला उद्यमीले नगरपालिका, घरेलु कार्यालय वा सम्बन्धित कार्यालयमा व्यवसाय दर्ता अनिवार्य हुनुपर्ने छ ।
१ सय रुपैयाँ टिकट दर कायम गरिएको महोत्सवमा सामाजिक सुरक्षा भत्ता पाएका ज्येष्ठ नागरिकलाई निःशुल्क छ । महोत्सवमा २ सय स्टल रहने छन् । महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अपेक्षा गरिएको महासचिव तेज प्रसाद भण्डारीले बताए ।
सो क्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष केशव पराजुली, सङ्घका उद्योग उपाध्यक्ष ईश्वरी भण्डारी लगायतले मेला सफलताको शुभकामना व्यक्त गरे ।