© २०२३
काठमाडौं, १० कात्तिक ।
जेनजी आन्दोलनपछि दिल्ली जाने तयारीमा रहेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीय पक्षले डिपोर्ट गरिदिने चेतावनी दिएपछि उनी अन्तिम समयमा आफ्नो यात्रा रोक्न बाध्य भएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर १७ गते (असोज १ गते) अपरान्ह साढे २ बजे एयर इन्डियाको उडानबाट दिल्ली जाने तयारीमा थिए ।
तर, भारतीय पक्षले उडानकै बिहान उनलाई रोक्नुपर्ने भन्दै नेपाल सरकारमा अनुरोध पठाएको थियो । उनीसँगै उडान टिकटको प्रतिलिपि समेत पठाएर भारतीय पक्षले संवेदनशील परिस्थितिमा दिल्ली जान रोक्नुपर्ने बताए ।
भारतीय पक्षले भनेका थिए “यदि तपाईंहरूले रोक्नुभएन भने हामी उनलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाउनुपर्ला, जसले दुवै देशका लागि राम्रो हुँदैन । त्यसैले यहाँ रोकिदिनुपर्छ ।”
भारतीय अनुरोध परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयसम्म पुगेको थियो । तर, गृह मन्त्रालयका अधिकारीले नेपालले विदेश जान प्रतिबन्ध लगाउने कानुनी आधार नभएको र बिना आधार रोक्न अप्ठेरो हुने राय दिएका थिए ।
भर्खरै पदमा आएका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि भनेका थिए – “कानुनले मिल्छ भने रोक्ने हो, नत्र कसरी रोक्ने ?”
नेपाली अधिकारीहरूले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाएपछि, भारतीय पक्षले उनी डिपोर्ट हुनसक्ने जोखिम बारे प्रसाईं नजिकका व्यक्तिलाई जानकारी दिएका थिए ।
त्यसपछि प्रसाईंले स्वयं अन्तिम समयमा आफ्नो यात्रा रद्द गरेका थिए । यद्यपि, अनौपचारिक कुराकानीका क्रममा प्रसाईंले आफू काठमाडौं विमानस्थल हुँदै भारत जाने तयारीमा भएको भन्ने जानकारी खण्डन गरेका छन् । उनले भने – “मैले बागडोग्रा वा अन्य विकल्पबाट दिल्ली जाने हो, काठमाडौं मेरो नियमित रुट होइन ।”
जेनजी आन्दोलनका स्टेकहोल्डरका रूपमा विभिन्न निकायसँग छलफलमा रहेका प्रसाईं नयाँ सरकारमा चाहेजस्तो भूमिका नपाएको भन्दै क्षुब्ध छन् । उनी वर्तमान सरकार गठनमा पश्चिमा पक्ष सक्रिय रहेको आरोप समेत लगाउँछन् ।
सरकार गठन र अन्य निर्णयहरूमा अपारदर्शी प्रक्रिया भइरहेकाले उनी भारतीय पक्षसँग छलफल गर्न हवाईमार्गबाट दिल्ली जान चाहेका थिए । तर, भारतीय संस्थापनले उचित प्रतिक्रिया नदिँदा उनी केही साता रोकिएका थिए ।
स्रोतका अनुसार, केही दिनअघि उनी स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । तर, त्यहाँ भ्रमण सोचेको जस्तो नभएको र दिल्ली पुलिसको निगरानीमा रहनुपरेको प्रसाईंले निकटस्थलाई बताएका छन् ।
काठमाडौंस्थित भारतीय दुतावास स्रोतले भने यस विषयमा आफूहरूलाई थाहा नभएको भन्दै आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।