© २०२३
काठमान्डौ, १० कार्तिक ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन् ।
भ्रातृ संगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेन–जी आन्दोलनको परिणामस्वरूप बनेको अन्तरिम सरकारबाट प्रतिनिधिसभा विघटन गरिएको बताए ।
‘प्रतिनिधिसभा असंवैधानिक तरिकाले विघटन भयो,’ खड्काले भने । उनले जेन–जी आन्दोलनका कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको स्मरण गर्दै, आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको प्रसंग पनि उल्लेख गरे ।
‘संविधान जोगाउन ठूलो चुनौती आयो । राष्ट्रपति पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर आफ्नो जीवनको अनुभव र जनतालाई केन्द्रमा राख्दै संविधानको रक्षा गर्नुभयो,’ उनले भने ।
कार्यवाहक सभापति खड्काले तरुण दलका सदस्यहरूलाई जुझारूपन, अनुशासन र एकताबद्ध भएर सिंगो देश र नागरिकको रक्षामा जुट्न आग्रह गरे ।
सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राणघातक हमला भएको उल्लेख गर्दै खड्काले भने, ‘देशैभरि नेताका घर खरानी बनाइए । यस्तो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ । तरुण साथीहरूलाई अनुरोध छ – धैर्यता, संयमता र जिम्मेवारीसाथ एकताबद्ध भएर देश र नागरिकको रक्षामा अग्रसर रहनुहोस् ।’