© २०२३
काठमान्डौ, १० कार्तिक ।
जेन–जी आन्दोलनका बेला गृह मन्त्रालयको सचिवका रूपमा कार्यरत रहेका गोकर्णमणि दुवाडीलाई उपत्यका छाड्न अनुमति प्रदान गरिएको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले दुवाडीसहित पाँच जनालाई उपत्यका बाहिर जान रोक लगाउने निर्णय गरेको थियो । आयोगले भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा ती अधिकारीहरूको पासपोर्ट समेत रोक्का गरेको थियो ।
उक्त निर्णयका दायरामा परेका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजाल र सचिव दुवाडी रहेका थिए ।
दुवाडी हाल राष्ट्रिय योजना आयोगका सदस्य–सचिवका रूपमा कार्यरत छन्। उनलाई उपत्यका बाहिर जान अनुमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिएका छन् ।
उक्त अधिकृतका अनुसार दुवाडी जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण संकलन समितिका संयोजक भएकाले आयोगले उनलाई उपत्यका बाहिर रहने अनुमति दिएको हो ।
उनले भने, “उहाँ क्षतिको विवरण संकलन समितिको संयोजक हुनुहुन्छ, त्यसैले बाहिरी जिल्लामा भएको क्षतिको अध्ययन र विवरण संकलनका लागि उपत्यका बाहिर जान अनुमति प्रदान गरिएको हो ।”
उक्त आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले बलम्बुस्थित दुवाडीको घरमा आगजनी गरेका थिए ।