Butwal Today

अनोमाघाट उपमेयर आउँदा पनि खुसी मान्छ !

१० कार्तिक २०८२, सोमबार
अ+
अ-

नवलपरासी, १० कार्तिक ।

सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता–५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् ।

यही वर्ष नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि विभिन्न क्षेत्रको पनि चासो बढ्दै गएको र सोही क्रममा सिद्धार्थको जन्मस्थल भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर हरिजनले सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थानको अवलोकन गरेकी हुन् ।

सिद्धार्थ गौतमको जन्म र गृह त्याग गरी आफ्ना राजसी पद परित्याग गरी प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजीमा निस्केका थिए ।

बुद्धको मानवीय रूपमा जन्म लिएको लुम्बिनी र बोधीको खोजका लागि औपचारिक रूपमा राजसी पद त्याग गरी ज्ञानको खोजीका लागि महाभिनिष्क्रमण लिएको यो अनोमाघाट दुवै सिद्धार्थको जीवनको महत्त्वपूर्ण स्थल भएको बताउँदै उनले यो स्थानमा पहिलो पटक आएको बताएकी थिइन् ।

लुम्बिनी र अनोमाघाट बुद्धको जीवनका सबै भन्दा महत्त्वपूर्ण घटना हुने स्थान हुन्, उनले अनोमाघाटको बारेमा सुनेको तर सो स्थानमा आफू नपुगेको  बताइन्   ।

बुद्धसँग श्रद्धा राख्ने जो सुकैका लागि लुम्बिनी पछिको दोश्रो अनोमाघाटमा पुग्नु जीवनका लागि सुखद अवसर भएको बताएकी थिइन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाले अनोमाघाटको प्रवर्द्धन गर्नमा अग्रसर हुने पनि बताएकी थिइन् ।

लुम्बिनीलाई विश्व सम्पदा सूचिमा युनेस्कोले राखे देखि संसार भरी चिनिँदै आएको तर अहिले मात्र नेपाल पर्यटन बोर्डले आफ्नो घोषणा मार्फत अनोमाघाटलाई प्रबज्या स्थल (महाभिनिष्क्रमण) स्थलको रूपमा राष्ट्रिय पहिचान दिएको छ ।

यसको प्रचार प्रसार, पूर्वाधार निर्माण, सांस्कृतिक विकाससँगै यसलाई संस्थागत गरी विकास आवश्यक रहेको स्थानीय सन्तोष हरिजनले बताएका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयरको यस स्थानमा उपस्थितिले यो अनोमाघाटलाई थप उचाइमा पु¥याउने स्थानीय मुन्सी हरिजनले बताएका थिए ।

आवश्यक पूर्वाधार त बन्न सकेको छैन,उनले भने,तर यसले पहिचान पाउँदै गएको छ, यसमा हामी स्थानीय खुसी छौ ।
पर्यटन बोर्डले सुस्ता गाउँपालिकालाई यहीँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उक्त स्थल बौद्ध मार्गीको एक महत्त्वपूर्ण तीर्थस्थल पर्यटकीय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको थियो ।

तथा अनोमघाटलाई प्रबज्जा स्थल घोषण भएकोमा नेपाल पर्यटन बोर्ड बाट मान्यता सहित यस स्थानलाई धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बारे जानकारी तथा छलफल हुँदै आएको छ । सर्व धर्म शान्ति समाज मिसन अनोमा नेपालले पनि विभिन्न गतिविधि गर्दै आएको छ ।

नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रूपमा प्रचलित रहेको र भगवान् बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरूको लागि विशेष महत्त्व राख्ने स्थानहरूका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि एक धार्मिक पर्यटकीय गन्तव्य रहँदै आएको छ ।

यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट–ठाढी घाट लाई भगवान् सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा स्थानीय उत्साही पनि भएका छन् ।

सुस्ता गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको सक्रियता रहेको थियो ।

तत्कालीन सङ्घीय सँसदमा राष्ट्रिय सभा सदस्य (सांसद) रामलखन हरिजनले पनि सदनमा कुरा उठाउँदै आएका थिए । त्यसलाई तीर्थ स्थल बनाउनमा स्थानीय अशोक मानन्धर समेत निरन्तर लागेर काम गर्दै आएका थिए ।

अनोमाघाट घोषणा पश्चात् उक्त स्थानमा असार पूर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पूर्णिमा हजार बत्ती बालेर मनाइँदै आएको छ ।

असार पूर्णिमाकै दिन सिद्धार्थ गौतम गृह त्याग गरी अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रबज्या) लिई कपाल मुण्डन गरेर संन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापूर्व काल देखि ठाढीघाट मेला तथा कुस्ती प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचीन अनोमा नदी) स्थित बौद्ध तीर्थ स्थलको रूपमा पहिचान बनाउँदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ती बाल्ने कार्यक्रम गाउँपालिकाले गरेको थियो ।

नेपालको बोधगायको रूपमा संसार भरि चिनाउने उद्देश्यले गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम हुँदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ति गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाइला भएको हुँदा नेपालको बोध गया भनेर चिनाउनमा स्थानीय पनि लागेका थिए ।

गत असार पूर्णिमामा पनि सिद्धार्थ गौतम गृह त्याग गरी यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरी राजसी पोसाक त्याग गरी संन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झँदै स्थानीय र श्रद्धालुहरूले कपाल मुण्डन गरी असार पूर्णिमा मनाएका थिए । असार पूर्णिमा देखि बुद्धको भिक्षुहरूको बर्षाबास सुरु हुन्छ ।

त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाइने चलन छ । दुई वर्ष देखी कार्तिक पूर्णिमा हजार बत्ती बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाइमा पुर्‍याएको उनले विश्वास ब्यक्त गरेका थिए ।

अनोमाघाटमा कम्तीमा पनि असार पूर्णिमा र कार्तिक पूर्णिमालाई भव्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरूको आकर्षण बढ्दै गएको छ ।

सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कँदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगेपछि उनको कन्टक घोडा खडा भयो, त्यही बेला देखी स्थानीय स्तरमा ठाढीघाटको रूपमा चिनिएको हो ।