© २०२३
‘हिउँ चितुवा संरक्षणमा ध्यान दिऔँ’ भन्ने नाराका साथ १२ औँ विश्व हिउँ चितुवा दिवस नेपालमा पनि मनाइएको छ ।
संसारकै दुर्लभ प्रजातिभित्र पर्ने हिउँ चितुवा नेपाल र चीनसहित विश्वका १२ मुलुकमा मात्रै पाइने भएकोले यसको महत्त्व अझै बढेको छ । नेपाल सरकारले सन् २०१५ लाई हिउँ चितुवा संरक्षण वर्ष घोषणा गरी त्यसयता लगातार हिउँ चितुवा दिवस मनाउँदै आएको छ ।
नेपालले हरेक वर्ष २३ अक्टोबरको दिन यो दिवस मनाउँदै आएको छ । जस अनुसार बिहीबार दिवसको औपचारिकता पूरा भएको छ । नेपालमा हिउँ चितुवाको सिकार गर्न पाईदैन् । निकुञ्ज ऐनले पनि यसको चोरी सिकारीमा बन्देज लगाएको छ ।
हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस विश्वभर विगत १२ वर्षदेखि मनाइँदै आएको छ । हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो ।
हिउँ चितुवा नेपालमा करिब दुई सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । तराईमा बाघ र हिमालमा हिउँ चितुवा हाम्रो पहिचान झल्काउने सूचक हुन् ।
हिमालको सांस्कृतिक, पर्यावरणीय र जैविक सम्पत्तिका रूपमा हिउँ चितुवालाई लिइँदै आएको छ । तर पछिल्लो समय वासस्थान विनाश, चोरी सिकारी, मानवसँगको द्वन्द्व, जलवायु परिवर्तन यसका शत्रु बनेका छन् । त्यही पनि यो बर्सेनि लोप हुँदै गएको छ ।
हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक हो तर पछिल्लो समय हिमालमा हिउँ पग्लिने क्रम बढ्दै जान थालेपछि यसको वासस्थानमै सङ्कट उत्पन्न हुँदै गएको छ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँ चितुवाको वासस्थानमा ह्रास आएको छ ।
हिउँ चितुवाको वासस्थानमध्ये झन्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो वासस्थान खण्डीकरण हुँदै गएकोले चिन्ता उत्पन्न भएको छ । हिउँ चितुवा सरक्षणमा तीनै तहका सरकारबिच सहयोग र समन्वयको आवश्यकता देखिएको छ ।
हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरिएको छ । यसैबाट स्पष्ट हुन्छ– हिउँ चितुवा विश्वव्यापी जोखिममा छ ।
अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै उजाड बन्दै जान थालेपछि हिउँ चितुवाको वासस्थान लोप हुँदै गएको अवस्था छ । अबको दिनमा लोपोन्मुख प्रजातिमा रहेको यसको चोरी सिकार तथा बेचबिखन नियन्त्रण गर्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ ।
हिउँ चितुवाको संरक्षणका लागि वासस्थान र कोरिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्नेतर्फ हामी सबैको ध्यान जानु जरुरी छ ।
पछिल्लो समय हिउँ चितुवा लोप हुँदै जान थालेपछि वातावरणविद्हरूले चिन्ता प्रकट गरेका छन् । वातावरण विनाश, विश्वव्यापी कार्बन उत्सर्जन, तीव्र औद्योगीकरण लगायतका कारण उत्पन्न जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको छ ।
जसको फलस्वरूप हिमाल पग्लिने क्रम बढेको छ भने हिमाली क्षेत्रमा पाईने जीवजन्तु लोप हुनेक्रम बढेको छ । यसकै कारण हिमालका लागि पहिचान वनेको हिउँ चितुवाको वासस्थानमा ह्रास आएको छ ।
हिउँ चितुवा संरक्षणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता छ । अबको दिनमा हिउँ चितुवा संरक्षणमा सरकारको मात्रै होइन, वातावरण संरक्षणप्रति चिन्ता र चासो राख्नेहरूको पनि ध्यान पुग्न उत्तिकै आवश्यक छ ।
नेपालमा हरेक वर्ष हिउँ चितुवाको संख्या मासिदै गएको छ । पहिले पाँचसयको हाराहारीमा रहेको हिउँ चितुवा अहिले दुईसयभित्रै सीमित भएको छ । अव हिउँ चितुवाको संख्या यो भन्दा घट्न नदिनेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । दिवसको अवसरमा मात्रै होइन, बषैभरि हिउँ चितुवा हाम्रो सम्पदा हो, हाम्रो गौरव हो । तसर्थ यसको संरक्षणमा सबैको ऐक्यवद्धता आवश्यक छ ।