© २०२३
काठमान्डौ, ९ कार्तिक ।
भोलि (सोमबार) बेलुकादेखि देशभरको मौसम क्रमशः बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनका अनुसार आगामी दिनहरूमा विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने सम्भावना छ ।
महाशाखाका अनुसार आज (आइतबार) कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । दिउँसो ती प्रदेशका हिमाली भागहरूमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि छठ पर्वको मुख्य दिन देशभर आंशिक बदली रहने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ । बेलुकातिर देशका पश्चिमी भू–भागमा समेत बादल बढ्ने र तराईका क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
पर्सि (मंगलवार) दिउँसोदेखि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका अधिकांश पहाडी क्षेत्रमा मौसम बदली रहनेछ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा बदली रही वर्षा–हिमपातको क्रम जारी रहनेछ ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारदेखि देशभर वर्षा सुरु हुने र यो क्रम शुक्रबारसम्म जारी रहने सम्भावना छ । उनका अनुसार अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा वर्षा प्रणाली सक्रिय भइरहेका छन्, जसको प्रभाव नेपालमा देखिनेछ ।
पोखरेलका अनुसार विशेषगरी पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ । उनले अहिले किसान धान काट्न व्यस्त रहेको सन्दर्भमा सावधानी अपनाउन आग्रह गर्दै भने, “मंगलवारदेखि पानी पर्न सक्ने भएकाले ४–५ दिनसम्म धान काट्ने वा भित्र्याउने काम नगर्नु नै उचित हुन्छ ।”