Butwal Today

आगामी प्रतिनिधिसभा चुनावमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । आयोगले हाल चुनाव तयारीका क्रममा बजेटको प्रारूप तयार पारेको छ, जसको अन्तिम टुंगो भने अझै हुन बाँकी रहेको छ । बजेट स्वीकृत भएपछि आयोगले त्यसलाई अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बजेट निर्माणको काम जारी छ । उनले भने, “प्रारम्भिक अनुमान अनुसार साढे सात अर्ब रुपैयाँ खर्च हुने देखिएको छ, तर अन्तिम निर्णय हुन बाँकी छ ।”

आसन्न चुनावका लागि आवश्यक सामग्रीहरूको सूची आयोगले तयार पारिरहेको छ । छठ पर्व सकिएलगत्तै सामग्री खरिद प्रक्रिया सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । यसका लागि अर्थ मन्त्रालयसँग छलफल जारी छ । विगतका चुनावमा प्रयोग भएका सामग्रीहरूमध्ये पुनः प्रयोग गर्न सकिने वस्तुहरूलाई समेत उपयोगमा ल्याइनेछ ।

चुनाव सञ्चालनमा विशेष चुनौती हुने हिमाली र दुर्गम क्षेत्रका लागि आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा छुट्टै बजेट विनियोजन गर्ने तयारी गरेको छ । प्रतिकूल मौसमका कारण मतदान कर्मचारी र सामग्री ढुवानीमा समस्या आउन सक्ने भएकाले आवश्यक परे हेलिकप्टरमार्फत सामग्री र कर्मचारी पठाउने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

आयोगले यसपटक पनि विगतको अभ्यासअनुसार एक हजार मतदाता बराबर एक मतदान केन्द्र कायम गर्ने तयारी गरेको छ । आयोगका अनुसार एक मतदान केन्द्र सञ्चालन गर्न कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले सर्वाधिक खर्च यही व्यवस्थापनमा हुने अनुमान गरिएको छ । मतगणनाका लागि समेत छुट्टै जनशक्ति र सामग्री आवश्यक पर्ने भएकाले बजेटको ठूलो भाग जनशक्ति व्यवस्थापनमै खर्च हुनेछ ।