Butwal Today

दुर्गा प्रसाईं भन्छन्- भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔं

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । उनले आवश्यक परे देश छोड्न पनि तयार रहेको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले भने, “यदि तपाईंहरूले भन्नुभयो भने— ‘दुर्गा, तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो,’ म तयार छु । म जान्छु । मलाई लोभ छैन, केही चाहिँदैन ।”

सन् २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमालेसम्मको राजनीतिक यात्राको स्मरण गर्दै उनले जानेर–नजानेर भएका गल्ती स्वीकार गर्दै अब देश हितका लागि सुधारिने प्रतिबद्धता जनाए ।
“ल, हिजो जे भयो—भयो । हामी बाटो बिर्सियौं, सबैले गल्ती ग¥र्यौं । अब त कम्तीमा देश जोगाउने बेला हो,” उनले भने, “नेपाल भुंग्रोमा गएको छ, त्यसलाई उठाएर न्यानो ठाउँमा लैजाऔं । मान्छेले न्यानोपन खोजिरहेको छ, त्यसका लागि सुध्रिनै पर्छ ।”

प्रसाईंले आफू ‘रेण्डम स्वभाव’को व्यक्ति भएको बताउँदै मुख्यधारका सञ्चारमाध्यमले कहिल्यै सकारात्मक समाचार नलेखेको गुनासो पनि गरे ।
“मेनस्ट्रिम मिडियाले मेरो राम्रो कहिल्यै लेखेन, सधैं नराम्रो लेख्यो,” उनले भने, “तपाईंहरूसँग लडेर यहाँसम्म आएको हुँ, जानेर होस् वा नजानेर, म यहाँ आएको नै हुँ ।”

गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको समर्थनमा प्रसाईंले काठमाडौंको तिनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि उनी भारत भागेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले पछि जमानतमा रिहा गरेको थियो ।

हाल प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन् । तर गृह मन्त्रालयले शान्ति–सुरक्षाको चिन्ता व्यक्त गर्दै प्रदर्शन नगर्न आग्रह गरेको र वार्ताका लागि उनलाई बोलाएको छ ।

गृह मन्त्रालयको सो आह्वानपछि पत्रकार सम्मेलनमा प्रसाईंले सरकारको कदमको स्वागत गर्दै भने, “वार्तामा बोलाएर जनताको आवाज सुन्न खोजिएको छ, यो सकारात्मक पहल हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?