© २०२३
काठमान्डौ, ९ कार्तिक ।
तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार तिहारअघि कात्तिक ३ गतेको तुलनामा तोलामा ११ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो ।
महासंघले तिहारपछि पहिलो पटक आइतबार सुनको मूल्य समायोजन गरेको हो । तिहारअघि प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ सार्वजनिक बिदाका कारण केही दिन यथावत् रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ४ गते नै सुनको मूल्य करिब ५ प्रतिशतले घटेको थियो । असोज ३ गते प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुन हाल ४१११ डलरमा झरेको छ । एक औंस बराबर करिब २.४३ तोला पर्छ ।
नेपालमा असोज ३१ गते सुनको मूल्य इतिहासकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घट्दै आइतबारसम्म उल्लेखनीय गिरावट आएको हो ।
यसैबीच, चाँदीको मूल्य पनि घटेको छ । तिहारअघि प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार ३ हजार १५ रुपैयाँमा झरेको छ । यसरी चाँदी प्रतितोला २६५ रुपैयाँले सस्तो भएको हो । असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको थियो ।