Butwal Today

जनताको आवाज सुन्ने सरकारको प्रयास स्वागतयोग्य छ: दुर्गा प्रसाईं

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ९ कात्तिक ।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्ताका लागि सरकारको कदमको स्वागत गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले सरकारको वार्ता पहललाई सकारात्मक रूपमा लिँदै जनताको आवाज सुन्ने प्रयासको प्रशंसा गरेका हुन् ।

‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने हामी यसको स्वागत गर्दछौं,’ प्रसाईंले लेखेका छन् । ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’

प्रसाईंले राष्ट्र र नागरिकको हितका लागि ठोस समाधान खोजिनुपर्ने बताएका छन् । ‘वार्तामा बोलाउने मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ,’ उनले लेखेका छन् ।

शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमका कारण प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना धारणा राख्न आग्रह गरेका थिए ।

प्रसाईंले १५ कात्तिकपछि गर्ने घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई ब्रिफिङ गरेपछि गृहमन्त्री अर्यालले संवादका लागि अपिल गरेका हुन् ।

शनिबार बिहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले संयुक्त बैठक गरेका थिए ।

सरकारले देशको सुरक्षा अवस्था संवेदनशील रहेको बताउँदै सबै राजनीतिक शक्ति र समूहलाई सडक प्रदर्शन नगरी वार्ता र संवादको बाटोबाट अघि बढ्न आग्रह गरेको छ ।