Butwal Today

प्रधानाध्यापकसहित ३ जनाविरुद्ध स्याङ्जाको शिशु कल्याण माविमा भ्रष्टाचार मुद्दा दायर

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ९ कात्तिक ।

सूचना तथा प्रविधि कार्यक्रमका लागि आएको बजेट हिनामिनाको आरोपमा स्याङ्जाको शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, तत्कालीन लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा विरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष ०७८/०७९ मा गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविमा आइटिसी कार्यक्रमका लागि आएको बजेट आपसी मिलोमतोमा हिनामिन गरिएको अख्तियारको ठहर छ ।

कूल बजेटमध्ये असार २३ गते सात थान डेस्कटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान ल्यापटप र एक थान प्रिन्टर खरिद गरिएको देखिएको थियो, तर दुई थान कम्प्युटर, एक/एक प्रिन्टर र प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार गरिएको पाइएको अख्तियारले जनाएको छ ।

प्रत्येक कम्प्युटरको मूल्य ६१ हजार ५०० रुपैयाँ, प्रोजेक्टर ५८ हजार रुपैयाँ र प्रिन्टरको गरी २ लाख १७ हजार रुपैयाँ अनियमित भएको अख्तियार प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

अख्तियारका अनुसार प्रतिवादीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णयविना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६६७ रुपैयाँ चेक काटेर विद्यालयको कोषबाट निकासा गरेका र विद्यालयमा फिर्ता नगरेको पाइएको छ ।

स्थलगत अनुसन्धानअनुसार तीनै प्रतिवादीले मिलेर ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा अनियमित गरेको दाबी अख्तियारले गरेको छ ।

यसको आधारमा विशेष अदालत काठमाडौंमा तीनै प्रतिवादीविरुद्ध ४ लाख ७१ हजार ६६७ रुपैयाँ २६ पैसा बिगो कायम गरी कैद र बिगो रकम असुल गर्ने मागसहित आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।