Butwal Today

विवादित खगेन्द्र मन्त्री बन्ने सूचिमा

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले विवादित व्यक्तित्वका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी गरेसँगै सामाजिक सञ्जाल र राजनीतिक आलोचना तेज भएको छ ।

सुनारविरुद्ध पहिले सुर्खेत र काभ्रेबाट जारी पक्राउ पुर्जी र उनले फेसबुकमा एक महिला अधिवक्ताविरुद्ध लेखेका आपत्तिजनक स्टाटस सार्वजनिक हुँदै आएको छ ।

खगेन्द्र दैलेखको नारायण नगरपालिका–२, भैसेखोर निवासी हुन् । उनी पूर्व प्रधानमन्त्री डिलबहादुरका नाति र कमान सिंहका छोरा हुन् । उनले २०७८–७९ मा नेपाली कांग्रेसबाट महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

उनविरुद्ध सुर्खेत जिल्ला अदालतले स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा २०८१ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दैलेखलाई सात दिन भित्र पक्राउ गरी उपस्थित गराउन पत्र लेखिएको थियो ।

त्यसैगरी, काभ्रे जिल्ला अदालतबाट विद्युतीय कारोबारसम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको छ । यी दुवै मुद्दा अझै फर्स्यौटमा नपरेको र सुनार फरार अभियुक्तको सूचीमा रहेका छन् ।

सुनार दलित अधिकारका लागि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी रहँदै आएका छन् । २०७७ जेठ ११ मा रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या पछि उनले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर प्रदर्शन गरेका थिए । उक्त घटनामा उच्च अदालत सुर्खेतले व्यक्ति हत्यामा सजाय सुनाएको थियो, तर जातीय छुवाछुत नभएको फैसला गरेको थियो ।

यस निर्णयको विरोधमा सुनारले अदालतको ढोकासमक्ष न्यायाधीशविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध अदालत अवहेलनाको मुद्दा सर्वोच्च अदालतमा दायर गरेकी थिइन् ।

यस्तै, खगेन्द्रले अधिवक्ता गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुकमा विवादित स्टाटस लेखेका थिए ।

गौतमको फोटो र मोबाइल नम्बर फेसबुकमा राख्दै सुनारले लेखेका थिए, ‘यसलाई यो नम्बर ९८६०…..‘फोन गरेर सोधौं– त नेपाल बारको होस् कि ठमेल बार को ?’

उनले फेरि अर्को एउटा पोष्टमा लेखेका थिए, ‘कालो कोटको आडमा कालो धन्दावाली– तँलाई तेरै अदालतमा कानुन पढाउने दम छ हामीसँग । तसँग दम छ रु दिउँसै कालोधन्दा गर्ने नेपाल बार र राति धन्दा गर्ने ठमेलको बारमा के फरक छ ?’

सामाजिक सञ्जालमा यी पोस्टका स्क्रिनसट भाइरल भएपछि प्रधानमन्त्रीको निर्णय र खगेन्द्र सुनारको नियुक्ति व्यापक आलोचनाको विषय बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ ।