© 2026
काठमाडौं, ९ कात्तिक ।
राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने गृहकार्य थालिएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ‘जेनजी आन्दोलनकारी’ले आगजनी गरी क्षति पुर्याएको र नयाँ संसद भवन अझै निर्माण सम्पन्न नभएकाले राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हल प्रयोग गर्ने तयारी अघि बढाइएको हो ।
स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभा बैठक पहिले पनि यही हलबाट सञ्चालन गरिएको थियो । पछि संघीय संसद भवन नयाँबानेश्वरमा सारिएको थियो ।
‘संघीय संसद भवन आगजनीका कारण प्रयोगयोग्य छैन । हाम्रो पहिलो प्राथमिकता सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवन नै हो, तर त्यो पनि अहिले पूरा भएको छैन,’ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।
‘२०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारभित्रको पुरानो प्रतिनिधि सभा भवनमा प्रबलिकरणको काम भइरहेको छ । त्यसैले अहिलेका लागि कृषि समितिको हल नै बढी उपयुक्त देखिन्छ ।’
राष्ट्रिय सभा बैठक सुरु भएपछि युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्नुपर्ने र दर्शकहरू पनि सहभागी हुन सक्ने भएकाले आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधार न्यून खर्चमा कसरी तयार पार्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
‘नयाँ संसद भवन बनेपछि फेरि सर्नु पर्ने भएकाले कृषि समितिको हललाई सकेसम्म न्यून लगानीमा प्रयोगयोग्य बनाउने तयारी भइरहेको छ,’ प्रवक्ता गिरीले थपे ।
२३ र २४ भदौको ‘जेनजी आन्दोलन’पछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरिएको थियो । सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको छ । स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१ औं महासभामा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा गएका छन् । उनले प्रस्थान गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभा बैठक कहाँ बस्ने भन्ने विषयमा छलफल गरेका थिए ।
अध्यक्ष दाहाल स्वदेश फर्किएपछि पनि यस विषयमा थप छलफल गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।