Butwal Today

छठ महापर्वको पौराणिक कथा र सांस्कृतिक महत्त्व

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

भूमिका

नेपाल विविध धार्मिक, सांस्कृतिक र जातीय सम्पदाले भरिएको मुलुक हो । यहाँ मनाइने पर्वहरू केवल परम्परा र श्रद्धासँग मात्र नभई प्रकृति, समाज र संस्कृतिको गहिरो सम्बन्धसँग पनि गाँसिएका छन् ।

यस्ता पर्वहरूमध्ये छठ पर्व एक अत्यन्त पवित्र, कठिन र लोक सामाजिक आस्थासँग जोडिएको चाड हो, जुन विशेष गरी बिहार, उत्तर प्रदेश, दिल्ली एवम् नेपालको तराई क्षेत्रमा निकै भक्ति भावका साथ सूर्यको पूजा आराधना र उपासना गरी छठ पर्व धूमधामका साथ मनाउने गरिन्छ ।

त्यसो त मानिसहरू उदाउँदो सूर्यलाई प्रणाम गर्दछन्, तर छठ पर्व यस्तो अनौठो पर्व हो जो अस्ताउँदो सूर्यको पूजाबाट सुरु हुन्छ । सामान्य रूपमा कार्तिक महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने छठ पर्व सूर्य देवता र छठ माताको आराधनासँग सम्बन्धित छ। यो पर्व शुद्धता, नियम, आस्था र प्रकृति(पूजाको अनुपम उदाहरण हो।

प्रत्येक दिन विशेष विधि, नियम र तयारीको ख्याल गरिन्छ। छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ ।

सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

१. नहाय खाय (पहिलो दिन):  व्रतको प्रारम्भ दिन व्रतालुहरू नुहाएर शुद्ध हुन्छन्। घर सफा गरिन्छ। खाना सादा, सात्त्विक र एकपटक मात्र ग्रहण गरिन्छ, प्रायस् लौका(भात र चनाको दाल। यही दिनदेखि मांसाहार, लसुन प्याज आदि परित्याग गरिन्छ।

२. खरना (दोस्रो दिन):  यस दिन बिहानदेखि सूर्यास्तसम्म निराहार व्रत बसिन्छ। साँझपख सूर्यास्तपछि गुँड र दूधबाट बनेको खीर, रोटी आदिको साथ एकपटक भोजन गरी त्यसपछि ३६ घण्टे निराहार ९निर्जल० व्रत सुरु हुन्छ। खरना विशेष पवित्रता र आत्मसंयमको प्रतीक हो।

३. सन्ध्या अर्घ्य (तेस्रो दिन): सबैभन्दा मुख्य दिन। व्रतालुहरू बाँसको टोकरीमा ठेकुवा, कसार, फलफूल, नारिवल, गाजर आदि समावेश गरी घाटमा पुग्छन्। साँझ डुब्दो सूर्यलाई अर्घ्य दिइन्छ। महिलाहरू पानीमा उभिएर पूजा गर्छन्। घाटमा छठ गीतहरू गाइन्छ, दीप बालिन्छ, सांस्कृतिक एकता देखिन्छ।

४. प्रातः अर्घ्य (चौथो दिन):  यस दिन बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यो क्षण अति महत्वपूर्ण मानिन्छ, जहाँ व्रतालुहरू सूर्यको उदयको प्रतीक्षा गर्दै जलमा उभिएर पूजा गर्छन्। अर्घ्यपछि व्रत समाप्त गरिन्छ र प्रसाद बाँडिन्छ।

पौराणिक कथा
छठ पर्वको उत्पत्ति सम्बन्धी विभिन्न धार्मिक आख्यान पाइन्छन् । एउटा प्रमुख पौराणिक कथा अनुसार, सतयुगका राजा प्रियव्रत र रानी मालिनीलाई सन्तान नहुँदा उनीहरूले महर्षि कश्यपको सल्लाहमा षष्ठी देवी (छठी माता) को पूजा गरेका थिए । पूजा अर्चनापछि रानीलाई पुत्र प्राप्त भयो र त्यसै दिनदेखि षष्ठी देवीको पूजाको चलन प्रारम्भ भएको मानिन्छ।

अर्को प्रसिद्घ मान्यता महाभारतसँग सम्बन्धित छ। सूर्यपुत्र कर्ण, जसले गंगा नदीमा उभिएर प्रतिदिन सूर्यको आराधना गर्थे, तिनै कर्णको पूजा पद्धति नै पछिल्लो समय ूछठ पर्वू को रूपमा विकसित भएको विश्वास गरिन्छ।

यस्तै, रामायण अनुसार, अयोध्या फर्किएपछि श्रीराम र सीताले सूर्य उपासना गरेर व्रत गरेका थिए, जुन कालान्तरमा छठ पर्वको रूपमा प्रचलनमा आयो । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ ।

छठ देवीलाई प्रकृतिको अधिष्ठात्री सन्तान र आरोग्यकी देवी तथा सूर्य देवताको बहिनीको रूपमा पूजिन्छ।

सनातन संस्कृतिमा सूर्य उपासनाको महत्त्व धार्मिक मात्र होइन, वैज्ञानिक र आध्यात्मिक पनि छ । परम्पराका अनुसार छठको उत्पत्ति त्रेतायुगबाट भएको हो । राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। उल्लेखनीय छ कि त्रेतायुगदेखि विहारवासीमा छठ व्रत बस्ने धार्मिक र आध्यात्मिक अनुभूति सुरु भएको थियो ।

धार्मिक र सांस्कृतिक महत्त्व
छठ पर्व केवल धार्मिक विधिमा सीमित छैन, यसको महत्त्व सूर्य देवताको पूजा, प्रकृति र पर्यावरणप्रतिको सम्मान, आस्था र आत्मसंयम, सामूहिक एकता र सामाजिक सद्भाव, लोक गीत जस्ता बहुआयामिक छ ।

छठ पर्व सूर्य देवताको आराधना हो, जो ऊर्जा, स्वास्थ्य र जीवनका स्रोत मानिन्छन् । अन्य कुनै देवता भन्दा सूर्य प्रत्यक्ष देखिने र वैज्ञानिक हिसाबले पनि जीवनदायी भएकाले यस पर्वको विशेष महत्त्व रहन्छ ।यो पर्व जल (नदी, तलाउ), सूर्य, वायु, माटो जस्ता प्राकृतिक तत्त्वहरूको पूजा हो। यसले हामीलाई पर्यावरण संरक्षणप्रति सचेत गराउँछ।

छठ पर्वमा कठोर व्रत बसिन्छ, त्यो पनि पानी समेत नपिई। यसले मानसिक शुद्धता, आत्मानुशासन र इच्छाशक्तिको अभ्यास गराउँछ।सारा गाउँ समाज मिलेर घाट सफा गर्ने, पूजास्थल सजाउने, जस्ता कार्यहरूले सामूहिकता र सहकार्यको भावना पैदा गर्छ।

छठ पर्वमा गाइने लोकगीतहरूले पर्वको माहोल अझ भव्य बनाउँछन् । उग हो सुरुज देव,  काँच ही बांस के बहंगिया जस्ता गीतहरूले मातृत्व, पवित्रता र लोक आस्थाको झल्को दिन्छन् । यी गीतहरू महिलाहरूबीच सामूहिक रूपमा गाइन्छ, जसले परम्परागत सांस्कृतिक हस्तान्तरणमा भूमिका खेल्दछ ।

निष्कर्ष
छठ पर्व केवल एक धार्मिक चाड होइन ।यो जीवनशैली, संयम, स्वास्थ्य र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश हो। यस पर्वले पारिवारिक सुख, सन्तानको दीर्घायु र सामाजिक समरसता प्रवर्द्धन गर्छ ।

कठोर नियम र कठिन साधनाले भरिएको भए तापनि छठ पर्वको महत्त्व, भव्यता र आस्थाको गहिराइ हरेक वर्ष झन् झन् बढ्दो छ। यस प्रकार, छठ केवल एउटा चाड होइन ।

यो श्रद्धा, सादगी, प्रकृति र परम्पराको समुच्चय हो, जसले मानिसलाई आत्मिक उन्नतिका मार्गतर्फ डोर्याउँछ।

लेखकः(नवलपरासी जिल्ला अदालतमा डीठ्ठा पदमा कार्यारत छन्। छठ पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना)