© २०२३
काठमाडौँ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको संख्या १० पुगेको छ ।
यसअघि चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो र उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । थप ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ, जसको जानकारी काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिएका छन् ।
आन्दोलनकारीले भदौ २४ गते महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापालाई निर्घात कुटपिट गरी हत्या गरेका थिए । हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छा र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय बुद्धिलाल थिङ जवान उत्तम थापाको हत्या आरोपमा कारागार चलान भएका थिए ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विक असई रायको हत्या आरोपमा कारागारमा छन् ।
हाल थप ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । उनीहरूमध्ये गोरखाका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर र अनुपम भण्डारी समावेश छन् ।
एसपी भट्टराईका अनुसार अनुसन्धान सकिएपछि उनीहरूमाथि मुद्दा दर्ता गरिनेछ । प्रहरीले हत्या गरेको भिडिओका आधारमा उनीहरूलाई पक्राउ गरेको हो भने यसअघिका चारै जना आरोपीले प्रहरी हत्याको जिम्मेवारी स्वीकार गरेका थिए ।