© 2026
नवलपरासी, ८ कार्तिक ।
नारायणघाट–बुटवल सडकखण्डको अधिकांश भागमा सडक विस्तारको काम सकिँदै जादा दाउन्ने बाहेक अन्य क्षेत्रमा यातायात सहज बन्दै गएको छ ।बुटवल देखि नारायणगढ सम्म ११३ किमि सडक निर्माणको कामले पछिल्लो समय गति लिएपछी आम सर्वसाधारणका लागि यातायात सहज बन्दै गएको हो ।
अहिले निर्माण कम्पनीले दाउन्ने खण्डलाई प्राथमिकतामा राखेर काम भैरहेको जनाएको छ । तिहार लगत्तै जनशक्ति बढाएर दाउन्ने खण्डमा तिब्र रुपमा काम अघि बढाईने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको पश्चिम् खण्डका आयोजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
“एक दुईवटा पुल पुलेसाहरु बाकी छ्न अरु छुटफुट कामहरु भैरहेका छ्न अहिले दाउन्ने खण्डलाई फोकस गरिएको छ,तिहार लगत्तै काम सुरु हुन्छ,समग्रमा ७२ प्रतिशत काम सकिएको छ” ज्ञवालीले भने ।
अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको छ । अरुण खोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेको आयोजनाले जनाएको छ ।
पश्चिम् खण्डको खैरेनी र बुटवल धागो कारखाना नजिक काम भैरहेको छ । बर्दघाटबाट बुटवल जाने निजि सवारी साधनहरु भैरहवा हुँदै जाने गरेकोमा सडक सहज भएपछि राजमार्ग नै प्रयोग गर्न थालेका छ्न । ‘अहिले त खैरेनी बाहेक अन्त बाटो राम्रो छ एक घण्टा पनि लाग्दैन बुटवल पुग्न अब दाउन्नेमा चाडो काम भयो भने सहज हुन्छ ‘ एक चालकले भने ।
अघिल्लो वर्ष यो समयमा दाउन्ने हुँदै यससडक पार गर्न ८-९ घण्टासम्म लाग्ने गरेको भन्दै अहिले भने यातायात धेरै सहज भएको चालक सागर पाण्डेले बताए ।
विसं २०७९ साउनमा निर्माण सक्ने गरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदैछ । पछिल्लो समय कामले गति लिन थालेपछि समयसिमा भित्रै सडक निर्माण सम्पन्न हुने विश्वास लिईएको छ ।