Butwal Today

भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीमा हत्या

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, ८ कार्तिक ।

मकवानपुरको भिमफेदी कारागारबाट फरार एक कैदीको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या भएको छ ।

शुक्रबार राति गैँडाकोट नगरपालिका–७ स्थित इँट्टाभट्टा नजिक ५–८ जनाको समूहले धारिलो हतियार प्रहार गरी २८ वर्षीय नारायण कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीका एसपी युवराज खड्काले जानकारी दिए ।

मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका निवासी हुन् । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

कुमाल यसअघि भिमफेदी कारागारमा सजाय भोगिरहेका थिए । बलात्कार कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर, भदौ २४ गते जेल तोडफोड गरेर उनी फरार भएका थिए ।

प्रहरीका अनुसार कुमाललाई २०७४ साउन ३ गते पक्राउ गरिएको थियो । उनी पछिल्ला दिनमा फरार अपराधीका रूपमा खोजी सूचीमा थिए ।