© २०२३
नेपालगञ्ज, ८ कात्तिक ।
बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका राप्ती सोनारी ९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । शुक्रवार राति अबेर सम्म घाँस काटेर नफर्किएपछि शनिवार बिहानै देखि स्थानीय र प्रहरीसहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा बिहान करिब ७ बजेतिर सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा खत्रीको शव क्षेतबिच्छेद फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घाँस काटेर राखेको डोको र चप्पल एक स्थानमा, शरीर, टाउको तथा खट्टा छुट्टिएको अवस्थामा अलग अलग स्थानमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले खत्रीको मृत्यु बाघकै आक्रमणबाट भएको हुनसक्ने बताए । उनले भने, “घटनास्थलको अवस्था हेर्दा यो बाघकै आक्रमण हो भन्ने स्पष्ट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
यो घटनापछि राप्ती सोनारी गाउँपालिकाका स्थानीय पुनः त्रासमा परेका छन् । गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलका अनुसार बाँके राष्ट्रिय निकुञ्ज नजिकका बस्तीहरूमा पछिल्लो समय बाघ र चितुवाको गतिविधि बढ्दै गएको छ । उनले भने, “निकुञ्ज वरपरका बस्तीमा पटक–पटक यस्ता आक्रमण भइरहेका छन् । मानिसहरू डर र असुरक्षामा बाँचिरहेका छन् ।” प्रहरीले पनि स्थानीयलाई वनमा घाँस दाउरा लिन जाँदा एक्लै नजान र विशेष गरी साँझपख वन क्षेत्रको नजिक नजान अनुरोध गरेको छ ।
राप्ती सोनारी गाउँपालिका बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र हो । हाल सम्म यहाँ ९ जनाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन् ।