© 2026
काठमान्डौ, ८ कार्तिक ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका सन्दर्भमा संयम र जिम्मेवारीका साथ व्यवहार गर्न सबैलाई आह्वान गरे ।
उनले विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सुरक्षा निकायले वर्तमान अवस्थाको सूक्ष्म विश्लेषण गरिसकेको बताए ।
गृहमन्त्री अर्यालले भने, “सुरक्षा अवस्थाबारे हामीले विस्तृत समीक्षा गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरिरहेका छन् भन्ने जानकारीहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार र संयमित ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक विषयहरूको समाधानका लागि सरकार संवादको ढोका खुला राखेको छ । सम्बद्ध पक्षहरूसँग हामी वार्ताको माध्यमबाट समस्या समाधान गर्न इच्छुक छौं ।”
प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा बैठक गररेकी थिइन् । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।