© २०२३
गुल्मी, ८ कात्तिक ।
गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिकै कालिगण्डकी कोरिडोर सडक खण्डमा प्रहरीले लागु औषध सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका -२ रुद्रपिपल निवासी ३२ वर्षीय मनोज प्रधान रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारूले जानकारी दिएका छन् ।
प्रहरीले गए राति शुक्रबार करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको होण्डा साइन मोटरसाइकलबाट उक्त लागु औषध बरामद गरिएको जनाएको छ ।
गुडिरहेको अवस्थामा अचानक मोटरसाइकल पल्टिदा स्थानीयले उठाउने क्रममा मोटरसाइकल चालकको झोलामा लुकाई छिपाइ लिएको अवस्थामा उक्त लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।
प्रहरीले बरामद गरिएको लागु औषध र मोटरसाइकल सहित मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय रिडीमा हिरासतमा राखेको जनाएको छ ।