© 2026
काठमान्डौ, ८ कार्तिक ।
स्थानीय प्रशासनको अनुमति बिना माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका ५० जनालाई नेपाल प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।
शनिबार बिहानदेखि प्रदर्शनका तयारीमा रहेका जेनजी युनाइटेड समूहका सदस्यहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्थानीय प्रशासनबाट अनुमति नलिई प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडप हुनसक्ने सुरक्षा जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा परेकामध्ये २४ महिला र २६ पुरुष छन् ।
जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा अनुमति माग्दा अनुमति नपाएको दाबी गरे ।
उनले भने, “हामी सकारात्मक भावनासहित ‘जेनजीहरू एकजुट होऔँ’ भन्ने सन्देश लिएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न आएका थियौं । तर, हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग्दा दिइएन । प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्यविरुद्धको कदम हो ।”
प्रहरीले भने सम्भावित सुरक्षाजन्य जोखिमका कारण सोधपुछपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।