© २०२३
नेपालगञ्ज, ७ कात्तिक ।
बर्षौंदेखि भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसकेर निरास भएका कोहलपुरका पुष्प व्यवसायीहरू यस वर्ष भने फुलझैँ मुस्कुराइरहेका छन् । कोहलपुर नगरपालिकाले यसपाली भारतीय फूलको आयातमा कडाइका साथ प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष फाइदा स्थानीय फूल किसानहरूलाई पुगेको छ ।
नगरपालिकाले यसअघिका वर्षहरुमा भारतीय फूलमाथि रोक लगाएको भए पनि लुकीछिपी आउने फूलका कारण स्थानीय उत्पादन बजारमा पुग्न सकेको थिएन । तर, यस वर्ष भने नगरपालिकाले कडाईकासाथ लागेपछि स्थानीय खेतमै फुलेका फूलहरू बजारमा राज गर्न पाए ।
कोहलपुरकी पुष्प व्यवसायी विष्णु चौधरीका अनुसार यो वर्ष स्थानीय फूलको माग यति बढ्यो कि आफूहरूले उत्पादन गरेका फूलले बजारको माग धान्नै सकेन । उनले भनिन्, “यसपटक नगरपालिकाले कडाइकासाथ भारतीय फूल रोकिदिँदा हाम्रो बारीका फूल बजारमा बिके, हामीलाई पनि गर्व महसुस भयो ।”
कोहलपुर–३ बनकटुवामा चौधरीले १० कठ्ठा क्षेत्रफलमा फूलखेती गरेकी थिइन्, तर मौसम प्रतिकुल र समय अभावका कारण ५ कठ्ठाको मात्रै फूल तयार भएको बताइन् । त्यसैमा पनि उनले ४ क्विन्टलभन्दा बढी फूल बिक्री गरेकी छन् । उनले विगतका वर्षहरू सम्झँदै भनिन्, “पहिलेका वर्षमा भारतीय फूल आउँथ्यो, हामीले लगाएको फूल खेतमै सुक्थ्यो । तर यसपालि खेतमैबाट फूल टिप्ने मानिसहरूको भीड लाग्यो ।” यस वर्षको सफलताले उत्साहित बनेकी चौधरी अब अर्को वर्ष खेती विस्तार गरेर अझ ठूलो परिमाणमा फूल उत्पादन गर्ने योजनामा छिन् ।
कोहलपुर–१३ खड्गवार नयाबस्तीका युवा व्यवसायी जयबहादुर बस्नेतको खेतमा त तिहारअघि दुई दिनसम्म फूल टिप्न आउनेहरूको भीडले ‘जाम’ नै लागेको थियो । १४ कठ्ठामा फूलखेती गरेका बस्नेतले उत्पादन गरेको ११ क्विन्टल सयपत्री फूल तिहारभन्दा दुई दिन अघि नै बिक्री गरिसके ।
त्यसपछि उनले सुर्खेतबाट थप ३ क्विन्टल फूल ल्याएर बिक्री गरे पनि माग धान्न नसकेको बताए । उनले हाँस्दै भने, “फूलका लागि यति धेरै फोन आए कि मोबाइल नै बन्द गर्नुप¥यो । मानिस खेतमै पुग्थे र धेरैजना खाली हात फर्किन्थे । त्यो देख्दा खुसी पनि लाग्थ्यो, दुःख पनि ।” बारीमै पुग्नेहरूलाई उनले ५०० रुपैयाँ केजीका दरले फूल बिक्री गरे । माग बढेसँगै मूल्य ६०० रुपैयाँ केजीमा पनि विक्री गरेको अनुभव सुनाए ।
बस्नेतले भने, यसपटक करिब ८ लाख रुपैयाँको फूल बिक्री गरेको जनाउँदै, “अझ २० क्विन्टल थप फूल भएको भए पनि सबै बिक्ने थियो ।” अर्को वर्ष उनले २० कठ्ठामा फूलखेती विस्तार गर्ने योजना बनाएका छन् ।
यस वर्ष कोहलपुरका पुष्प ब्यावसायी खुसी छन्, तर नजिकैको नेपालगञ्जका पुष्प व्यवसायीहरू भने निराश छन् । नेपालगञ्जकी पुष्प व्यवसायी विन्दु चर्ती मगरका अनुसार यस वर्षपनि नेपालगञ्जमा भारतीय फूल खुलेआम बिक्री भएकाले स्थानीय फूल किसानहरू निरास छन् । विन्दुले भनिन्, “पहिले दुई बिघामा खेती गर्थें, तर भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसकेर यो वर्ष तीन कठ्ठामा मात्र खेती गरेँ ।”
उनका अनुसार नेपालगञ्ज, कोहलपुर, खजुरा क्षेत्रमा करिब १७ जना किसानले फूलखेती गर्दै आएका छन्, तर भारतीय फूलले बजार ओगट्दै जाँदा धेरै किसानले पेशा नै छोड्न थालेका छन् । उनले भनिन्, “नेपालगञ्ज उपमहानगरपालिकाले पनि कोहलपुरजस्तै भारतीय फूलमा कडाइ गरिदियो भने हामीले फेरि फूलखेती विस्तार गर्ने हिम्मत पाउँथ्यौं ।” यस वर्षको तिहारले स्थानीय सरकार यदि दृढ हुन्छ भने आफ्नै माटोले पनि चमत्कार गर्छ भन्ने बाँकेमा एउटा सन्देश दिएको छ ।