© २०२३
काठमाडौं ।
भारतको सिक्किम उच्च अदालतले प्रयोगमा आउन छाडिएका नेपाली वर्णमालाका केही अक्षरहरू पुनः प्रयोगमा ल्याउन आदेश दिएको छ ।
पहिले नेपाली वर्णमालामा रहेका तर पछिल्ला वर्षमा प्रयोग घट्दै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरूको प्रयोग अनिवार्य गर्न अदालतले आदेश दिएको हो ।
पहिले नेपाली वर्णमालामा क, ख, ग पढाउँदा ती अक्षरहरू पनि पढाइने, लेखाइने गरिन्थ्यो । तर आधुनिकताको प्रभावसँगै ‘ण’ लाई ‘न’ ले विस्थापित गरेको थियो । त्यसैगरी तालव्य ‘श’ को सट्टा दन्त्य ‘स’ लेख्ने चलन बढेको छ । ‘ऋ’ लाई ‘रि’ लेख्न थालिएको छ । यसरी अन्य अक्षरहरू पनि बोलिचालीको सहजताका कारण प्रयोगबाट हराउन थालेका छन् ।
विद्यालय, विश्वविद्यालय, पत्रपत्रिका र साहित्यिक कृतिहरूमा यी अक्षरहरूको प्रयोग घटेपछि बालबालिकालाई नेपाली भाषा सिकाउने अभिभावक र शिक्षकहरूमा के सही र के गलत भन्ने द्विविधा उत्पन्न भएको थियो ।
सिक्किम निवासी अवकाशप्राप्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार धनराज गुरुङले सन् २०२५ अगस्ट ७ मा सिक्किम उच्च अदालतमा रिट दायर गरेका थिए । उनले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र सिक्किम राज्य सरकारलाई विपक्षी बनाएका थिए ।
गुरुङले ती अक्षरहरूको प्रयोग बन्द हुँदा नेपाली भाषाको शुद्धता र सांस्कृतिक पहिचानमा नकारात्मक असर परेको भन्दै ती अक्षरहरूको प्रयोग अनिवार्य गर्न माग गरेका थिए ।
रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाबाट हराउँदै गएका अक्षरहरूलाई मौलिक पहिचानसहित पुनः प्रयोगमा ल्याउन आदेश दिएको हो ।
अदालतले आदेशमा भनेको छ, “नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी छ । भाषा केवल संवादको माध्यम मात्र होइन, यो पहिचान र संस्कृतिको आधार पनि हो ।”
उच्च अदालतले लेखन र पढाइमा छाडिएका ती अक्षरहरू तत्काल प्रयोगमा ल्याउँदै त्यसको सही प्रयोग किताब र पाठ्यक्रमहरूमा सुनिश्चित गर्न निर्देशन दिएको छ । साथै आदेश कार्यान्वयनका लागि नेपाली भाषाविद्हरू सम्मिलित एक समिति गठन गर्न पनि अदालतले आदेश दिएको छ ।
अदालतको आदेशअनुसार छ जनाको विज्ञ समिति गठन गरिएको छ । समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोकसाहित्य लेखक चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँदिल्लीका प्रतिनिधि शंकरदेव प्रसाद ढकाल, एनबीबी डिग्री कलेजका सह–प्राध्यापक टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड विजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली भाषा विभाग प्रमुख प्रा. डा. कविता लामा रहेका छन् ।
समितिलाई उच्च अदालतको आदेश सबै शिक्षण संस्थामा कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ । कुनै संस्था वा लेखकले यी अक्षरहरूको बेवास्ता गरेको पाइएमा उनका पुस्तकहरू शिक्षण संस्थामा अस्वीकृत गर्न पनि भनिएको छ ।
अदालतले लेखनमा सानो त्रुटिले पनि नेपाली भाषाको शुद्धतामा असर गर्ने भएकाले नयाँ पुस्ताका लागि आदेशको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरेको छ । कतिपयले यो आदेश सिक्किम मात्र नभई सम्पूर्ण नेपाली भाषीहरूको जितका रूपमा लिएका छन् भने केहीले आधुनिक नेपाली भाषाको स्वतन्त्र विकासमा हस्तक्षेप भएको भन्दै आलोचना पनि गरेका छन् ।