© २०२३
काठमाडौं, ७ कात्तिक ।
अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै नयाँ उचाइमा पुगेको सुनको भाउ एक सातामै उच्च दरले घटेको छ । अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्न हतारिँदा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
हालसम्म अन्तर्राष्ट्रिय राजनीतिक अनिश्चितता र अमेरिका–चीनबीचको व्यापारिक तनावका कारण लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा रोज्दै आएका थिए ।
व्यक्तिगत तथा संस्थागत दुवै किसिमका लगानीकर्ताको आकर्षण बढेसँगै सुनको मूल्य लगातार उकालो लागेको थियो । तर पछिल्लो एक सातामा मात्र सुनको मूल्य करिब सात प्रतिशतले घटेको छ ।
३० असोजमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो । त्यस दिन प्रतिआउन्स सुनको मूल्य ४ हजार ३८१ अमेरिकी डलरसम्म पुगेको थियो ।
त्यसपछि घट्न थालेको सुनको मूल्य शुक्रबारसम्म ७.१६६ प्रतिशतले घटेर प्रतिआउन्स ४ हजार ६४ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक आउन्समा २८.३४ ग्राम हुन्छ ।
नेपालमा भने सुनको कारोबार तोलामा हुन्छ । एक तोला सुन ११.६६४ ग्राम बराबर पर्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत ३१ असोजमा तोलाको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको असर नेपाली बजारमा सामान्यतया एक दिनपछि देखिने गर्छ ।
असोज ३० अर्थात् अक्टोबर १६ मा हालसम्मकै उच्च मूल्य कायम गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुन निरन्तर घट्न थालेको हो । यद्यपि यसको सीधा असर नेपाली बजारमा तत्काल देखिएको छैन । पछिल्लो अवस्थामा सुनको भाउ तोलामा २ लाख ५३ हजार रुपैयाँसम्म झरेको थियो ।
त्यसपछि दिपावली बिदाका कारण सुनको कारोबार रोकिएको छ र नयाँ मूल्य तोकिएको छैन । आगामी सातादेखि कारोबार खुल्दा अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार नयाँ मूल्य समायोजन गरिने महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा धेरै देशका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुनमा लगानी बढाएका थिए । अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रभुत्व घटाउन खोज्ने देशहरूले पनि सुनमा लगानी बढाएपछि यसको माग बढेको हो ।
विदेशी मुद्रा सञ्चिति प्रशस्त भएका देशहरूले समेत सुन खरिद बढाउँदा व्यक्तिगत लगानीकर्तालाई पनि सुनतर्फ आकर्षित गरेको थियो ।
तर, पछिल्लो समय सुनले इतिहासकै उच्च मूल्य बनाइसकेपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका छन्, जसका कारण बजारमा आपूर्ति बढेको विश्लेषण विदेशी सञ्चारमाध्यमहरूले गरेका छन् ।
अमेरिका र चीनबीचको व्यापार सम्बन्धमा सुधारका संकेत देखिएपछि पनि सुनको मूल्य घट्न थालेको उल्लेख गरिएको छ । साथै, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाउने तयारी गरिरहे पनि लगानीकर्ताले वैकल्पिक बजारतर्फ ध्यान दिँदा सुनमा दबाब परेको बताइन्छ । पछिल्ला दिनमा लगानीकर्ताले डलर र धितोपत्र बजारमा आकर्षण बढाएपछि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरूको निष्कर्ष छ ।