© २०२३
तिहारमा एकपटक पासा वा कौडा त फाल्ने पर्छ है — यो भनाइ मैले बाल्यकालमा बा र बाका दौतरीको मुखबाट तिहारताका सुन्दै आएको थिएँ । मैले जुवाको नाममा तास खेलेको प्रायः गाउँमा देखिरहन्थें । कोडखोड़े (त्यसलाई लंगुरबुर्जा भन्छन् भन्ने कुरा मैले स्कुले जीवन पार गरेपछि मात्र थाहा पाएको थिएँ) चाहिँ तीजमा चारनम्बर बजारमा, भवानीपुर मेलामा र तिहारमा मेरै गाउँघरमा खेलेको देखेको थिएँ । कौडा र पासा खेलेको हेर्न तिहार नै कुर्नुपथ्र्यो । ज्योतिनगर गाउँमा बाह्रनम्बरेको घरमा र चपरहट्टीतिर कौडा खेलिन्थ्यो रे । मेरो गाउँ नजिकै बलबहादुरको आँगनमा भने तिहारको दिनमा २–३ खालमा पासा फाल्ने गरिन्थ्यो । धेरै पैसा भएका र खेल बुझेकाहरूले बसेर पासा फाल्ने गर्दथे । मुख्य हारजितको खेल उनीहरू बीचमै हुन्थ्यो । थोरै पैसा भएकाहरूले “मैले यति रुपियाँसम्म हान्छु” भनेर एक–दुई हात पासा हान्थे । अझ थोरै पैसा भएकाहरूले उभिएर च्याँखे थाप्थे । च्याँखे थाप्नेहरूले रकम जिते भने पासा हान्न पनि कस्सिन्थे । चौथो समूहमा पैसा नभएका तर पासा हान्दा जोस्सिने मानिसहरू हुन्थे। कसैले ठुलो रकम जिते भने हेर्ने मानिसलाई पनि जितौरे दिन्छन् भन्ने अफवाह फैलिएकोले केटाकेटीहरू निःशुल्क जुवाको मनोरञ्जन लिन र जितौरेको आशामा खेल हेर्न पुग्थे । म प्रायः त्यही चौथो समूहमा पर्थें ।
तास त युवाहरू र पाका पुस्ताका नियमित खेल थिए । मेरै गाउँका धेरै बुढाहरू खेतीपाती र अन्य कामबाट फुर्सद हुनासाथ पिढीमा बसेर तास फिट्न थाल्थे। युवाहरू भने गाउँमा खेल्न अलि धक मान्ने भएकाले दिउँसो नजिकैको सिसौघारितिर गएर तास खेल्ने गर्दथे । गोठालो जाँदा कुनै न कुनै गोठालासँग तासको गड्डी हुन्थ्यो । प्रायः गोठालाहरू ‘दैलामारा’ भन्ने सरल खेल खेल्थे । पाका गोठालाहरू तास खेल्न बसेपछि हामी केटाकेटीहरूको काम गाईबस्तु हेर्नुपर्ने हुन्थ्यो । पाका गोठालाहरू तास खेलेको देख्दादेख्दै केटाकेटीहरूले तासका पत्ती र सामान्य दाउपेच सिकिसकेका हुन्थे । मैले पनि तासका पत्तीहरूको नाम जानेको र दैलामारा, जुटपट्टि, फलास, रमीजस्ता खेलहरू सिकेको गोठालो जाँदा नै हो । तास खेल मेरो गाउँमा नियमित जस्तो खेलिन्थ्यो, तर त्यो जुवाको रूपमा भन्दा मनोरञ्जनको रूपमा बढी खेलिने भएकाले तास खेलेर कसैले उत्पातै हारेको वा कसैले जितेर घरबार जोडेको भन्ने देखिएन ।
तिहारमा भने गाउँमा धेरैलाई जुवा लाग्थ्यो । “फलानोले त ३ दिन ३ रातसम्म जुवा खेल्यो रे !”, “फलानाले त जुवामा रेडियो जित्यो रे !”, “फलानाले जुवामा घडी जितेर हातमा ४–५ वटा घडी लगाएर हिँडेको थियो रे !” यस्ता किस्साहरू तिहारको बेला निकै सुनिन्थे । एकजना बस्नेत थरका हुनेखाने मान्छेलाई खड्का थरको मान्छेले पासाले मुखमै हिर्कायो रे भन्ने पनि सुनेको थिएँ । बस्नेत हेर्दा भयङ्कर देखिन्थे, उनलाई हिर्काउने खड्का भने फिस्टे नै थियो । तर त्यो घटना सुनेपछि मलाई खड्का निकै भयङ्कर र डरलाग्दो लाग्न थालेको थियो । गोठालो गएको बेलामा वनको नजिकैको उनको घरको चापाकलमा पानी खान समेत डर लाग्दथ्यो मलाई ।
दसैँमै घर लिपपोत भइसकेकाले तिहारमा खासै लिपपोत गर्नु पर्दैनथ्यो । तिहारमा च्युरा कुटाउन भने जाँथ्यौँ कुनैकुनै वर्षमा, नत्र त्यो पनि दशैकै चिउराले काम चल्थ्यो । काग तिहारदेखि स्कुल बिदा भएपछि उमंगका दिनहरू सुरु हुन्थे । गाउँका दाइ–दिदीहरू भैलो खेल्नको लागि ‘सिक्लाईट’ (नाचगान सिक्ने काम) गर्थे, हामी त्यही हेरेर रमाउँथ्यौँ । काग तिहार र कुकुर तिहारको दिन गाउँ डुलेर बिताउँथ्यौँ । हाम्रो गाउँमा औंशीको दिनमा गाईपूज्ने र गोबर्धन पूजाको दिन गाईपूज्ने दुबैथरी चलन थियो । हामी बाग्लुंगे, गुल्मेली र पोखरातिरबाट आएकाहरूले पहिले गाईपूजा गरेर मात्र लक्ष्मीपूजा गथ्र्यौँ भने स्याङ्जालीहरूले लक्ष्मीपूजा गरेर अर्को दिन गाईपूजा गर्थे । गाईपूजा र गोबर्धन पूजा एकैपटक हुन्थ्यो । हाम्रो गाउँमा गाईपूजाबाट बल्ल तिहार सुरु भएको उल्लास हुन्थ्यो । बाबियोको तोरण तार्नु अनिवार्य हुन्थ्यो । बाबियो काट्न अघिल्लो दिन नै ७ किमी टाढाको चुरे पहाडमा जाने चलन थियो । पछि हाम्रो खेतको पुछारमा कुलोको डिलमा बाले बाबियो रोपेपछि हामीलाई बाबियो काट्न पहाड उक्लनु परेन ।
गाईपूजाको दिनमा दिदी र बहिनीहरू तोरण बाट्न कस्सिन्थे । आमाले गाईपूजनका लागि सर्जाम जुटाउन र पूजाका लागि विशेष किसिमका रोटी र सेलरोटी पकाउने काममा व्यस्त हुनुहुन्थ्यो । बा, म र बहिनी भने गोठ सरसफाइ गर्ने, गोबर्धन पर्वत बनाउने र फूल टिप्ने काममा लाग्दथ्यौँ । गाईपूजा गरेपछि गोठमा भएका सबै गाई, गोरु, भैँसी, बाख्रा समेतलाई शरीरमा रंगीचंगी दयो (छाप) लगाईदिने, नुन चटाउने र माला लगाइदिने काम गरिन्थ्यो । गोठको काम सकेपछि बाटो वारिपारि गर्ने गरी तोरण टाँग्ने काम गरिन्थ्यो । तोरणको बीचमा पर्ने गरी बाबियोको कुचो समेत बनाइन्थ्यो र छेवैमा सेलरोटी समेत झुण्ड्याइन्थ्यो । सबैले गाईपूजा सकेपछि गाईगोरुलाई खोलेर चर्नका लागि जंगल पठाइन्थ्यो । चारनम्बर, सुस्पुरा, महुवारी र मेरो गाउँका गाईहरू घर नजिकैको बाटो भएर जंगल जाँदा पूजिएका रंगीचंगी गाईगोरूहरूको दृश्य निकै सुन्दर देखिन्थ्यो । कसका गाई राम्रा देखिए भनेर हामी केटाकेटीहरू तुलना गथ्र्यौँ ।
बाल्यकालको आधा समयसम्म गाउँमा बिजुली आएको थिएन र बाँकी आधा समय बिजुली देखेपनि तिहारमा झिलिमिली बत्ती बाल्ने चलन नै थिएन । तिहारअघि नै सेमरा बजार गएर माटोको पाला किनेर ल्याइन्थ्यो । त्यो पालालाई जोगाएर राखी अर्को साल पनि प्रयोग गर्ने चलन थियो । लक्ष्मीपूजाको दिनमा घर अगाडि रंगोली बनाउने चलन थिएन, तर आँगनमा लिपपोत गरेर दियो र कलश राख्ने गरिन्थ्यो। बाटोदेखि घरभित्रसम्म दियो बाल्ने काम केटाकेटीहरूको हुन्थ्यो । आफ्नो घरमा दियो बालेपछि गाउँमा कसको घरमा कति दियो बलेका छन् भनेर हेर्न दगुरिन्थ्यौँ । गाउँमा प्रायः घरहरू कच्ची थिए, तर पनि दियोले गर्दा कसैको घरमा आगलागी भएको कहिल्यै थाहा भएन । बिहान गाईपूजा गरेर साँझ लक्ष्मीपूजा गरिन्थ्यो । लक्ष्मीपूजा गरेपछि बल्ल भैलो खेल्न र जुवा खेल्न हिँड्ने चलन थियो ।
“ए… रातो माटो,
ए… चिप्लो बाटो,
ए… लड्दै र पड्दै,
ए… आएका हामी…”
अचेल पनि भैलो खेल्दा अधिकांश मानिसले भट्टाउँछन् नि, हो त्यस्तै गरी भैलो खेल्न हिँड्थ्यौँ हामी । निष्पट अँध्यारोमा शितले लपक्क भिजेको कुलो डिल, भर्खरै ओभाउँदै गरेका गडाहा भएको बाटोमा को कतिबेला लड्थ्यो, कता ददारिन्थ्यो भन्ने हिसाब गरिसाथ्ये हुन्थेन । तैपनि भैलो खेल्न हिँडिन्थ्यो ।
उत्तरतिर घना जंगललाई राखेर बनेको मेरो गाउँ शान्तिनगर र छिमेकी ज्योतिनगर थियो (वन त अहिले पनि छ तर नाम मात्रको) । मेरो गाउँ मिर्गौली कुलोको किनारै किनार विस्तारित थियो भने ज्योतिनगर गाउँ ज्योतिनगर कुलोको वारिपारि थियो । सन् २०३९ सालतिर ४० घरजति मेरो गाउँमा थिए भने २५ घरजति ज्योतिनगरमा थिए । जुद्दविर रानाको घरमा मेरो गाउँ सकिन्थ्यो भने सुन्तली दिदीको घर (खासमा बन्द्रेको घर भन्थे) बाट ज्योतिनगर सुरु भएर पुछारेको घरमा पुगेर सकिन्थ्यो। पुछारेको घरपूर्व सानो कुलोबाट दिपनगर सुरु हुन्थ्यो । हाम्रो ठुलो बा, सटुकेली र कुलाबोटे खनालको घर जंगलतर्फ थिए भने त्यसपछि दिपनगरको मुख्य गाउँ सुरु हुन्थ्यो । अरू गाउँको तुलनामा दिपनगर निकै घना थियो । हामीले भैलो खेल्ने यिनै तीन गाउँ थिए ।
लक्ष्मीपूजा गरेपछि प्रायः परिवारका मान्छेहरू सुत्ने भएकाले घरको वरिपरि उज्यालो हुने कुरा नै थिएन । भैलो खेल्नेहरूसँग पनि उज्यालोको कुनै साधन हुँदैनथ्यो । कतैकतै पाइने टायर, पुराना चप्पल र टुकी बालेर भैलो खेल्न निस्किन्थ्यौँ । म १०–१२ वर्षको हुँदा भने लालटिन बालेर भैलो खेल्न गएको याद छ । नत्र भने अध्यारोमै हिँडिन्थ्यो, अँध्यारोमै बसेर भैलो खेलिन्थ्यो ।
भैलो खेल्न धेरै केटाकेटी जम्मा हुन्थ्यौँ । कुरुन्चेलीको घरबाट मिना दिदी, लक्ष्मी र देवी, बलामेको घरबाट श्यामकुमारी दिदी, मेरो घरबाट दिदी र म (कहिलेकाहीँ बहिनीहरू पनि पछाडि लाग्थे), जुद्दविरको घरबाट सेती दिदी, डुकुरे दाइ, घर्ति माइलाको घरबाट अम्बिका दिदी र डिले भैलो टोलीका स्थायी सदस्य थियौँ । अरू ५–७ घरका केटाकेटीहरू पनि हाम्रो टोलीमा जोडिन आउँथे । अनि बन्थ्यो हाम्रो जम्बो टोली ।
साँझ खाना खाएर हाम्रो भैलो सुरु हुन्थ्यो । अहिलेजस्तो म्युजिक सिस्टम हुने कुरै थिएन । अझ भन्ने हो भने हामीमध्ये धेरैले रेडियोमा गीत बजेको समेत सुनेका थिएनौँ । गाउँका दाइदिदीहरूले गाएका गीतहरू टिपेर हामीले गाउने र भट्याउने कोशिश गथ्र्यौँ । धेरैजसो घरमा येनकेन ५–१० पैसा दिन्थे । केही घरमा त ढोका नै खोल्दैनथे । केही घरमा भने “केटाकेटी आएर हल्ला गरे” भनेर लखेट्दथे। चामल र रोटी त राम्रै दिन्थे तर पैसा दिने कुरामा भने सबै कन्जुस थिए । कुनै घरले पनि एक रुपियाँभन्दा बढी दिएको याद छैन — शायद केटाकेटी भनेर हेपेका हुन् ।
लक्ष्मीपूजाको राति भैलो खेलेर आएको पैसा प्रायः अर्को दिन बाँडफाँड गरिन्थ्यो । कहिलेकाहीँ भने २–३ दिन भैलो खेलेर जम्मा भएको पैसा र चामलले पिकनिक जाने पनि गरिन्थ्यो । भैलो खेलेर आएको सुका–मोहर नै हामी केटाकेटीको जुवामा च्याँखे दाउ थाप्ने रकम हुन्थ्यो । भैलो खेल्न जान नपाउँदा भने बा, ठुलोबा, नेपानेबाहाहरूको पासा खेलेको हेर्न जाने गरिन्थ्यो । लालटिनको धिपधिपे उज्यालोमा पास खेल्नेहरू झुम्मिएका हुन्थे ।
“हान्यो… मार्यो… सोहोर्यो…”
बेलाबेलामा आउने यस्ता आवाजहरूले टोल नै थर्किन्थ्यो । हामीमध्ये कसैले जितेकोमा रमाउँथ्यौँ, कसैले हारेकोमा चुकचुकाउँथ्यौँ ।
गोबर्धनपूजाको दिनमा भैलो खेल्ने काम हुन्थ्यो, या त खेतमा काम गर्नु पथ्र्यो । तिहारको दिनमा छुट्टै उमंग हुन्थ्यो । गाउँघरमा प्रशस्त फूल पाइने भए पनि बजारमा गएर रंगिएको जुटको माला ल्याएर लगाइदिने चलन थियो । पछिपछि त रंगिन प्लास्टिकका माला समेत आएका थिए । निधारमा चामलको पिठोका सातवटा धर्कामा सप्तरंगी टिका लगाइदिन्थे दिदी–बहिनीले, अनि गलामा रंगिन माला पनि । टिका लगाएपछि घरमै तयार भएका विभिन्न किसिमका रोटीहरू खाइन्थ्यो — अहिलेजस्तो “भाइ मसला” भन्ने त्यतिबेलामा कसैले सुनेकै थिएनौँ ।
भाइटीका लगाएपछि खोडखोड़े खेल्न निस्किन्थ्यौँ । खेल्ने भनेको त्यही १०–२० पैसा नै थियो । खेल्दाखेल्दै कहिलेकाहीँ २–४ रुपियाँसम्म कमाइन्थ्यो । एकपटक मैले खोडखोडेमा १० रुपियाँ जितें । मलाई पासा खेल्न मन थियो । दस रुपियाँ बोकेर पन्थको चोकमा रहेको बलबहादुरको घरमा पुगें । पासा र कौडाका खालहरू गर्मागर्म थिए । मलाई पासा र कौडाका नियमहरू थाहा थिएनन् । तैपनि खल्तीमा भएको दश रुपियाँ र धेरै रकम जित्ने लालसाले गर्दा पासा खेल्ने खालमा गएँ । च्याँखे थाप्ने चलन थियो। मैले पनि अरूको सिको गर्दै २ रुपियाँ च्याँखे थापें ।
“हान्यो… मार्यो… तिर्यो…”
यस्तै हल्लाहरू सुनिए । कुनैबेलामा जितें, कुनै दाउमा हारें । हार्दा बेकारमा खेलेँ जस्तो हुन्थ्यो, अनि जित्दा अझ धेरै जित्नुपर्छ भन्ने हुन्थ्यो । दुई घण्टाजति च्याँखे थाप्दा ३० रुपियाँजति कमाएँ । एक मनले “घर जा भो” भन्यो, तर अर्को मनले “अझै कमाउनुपर्छ” भन्यो । मलाई दोस्रो मनले जित्यो । धेरै समय खेल्नु, एकैपटक कमाउँछु भनेर मैले १० रुपियाँ थापें । पासा उल्टियो, मेरो १० रुपियाँ गयो । मन अमिलो भयो । अघि गुमेको पनि असुल्ने र अझ कमाउने भन्दै सबैले दोब्बर पैसा खालमा राखेका थिए । मैले पनि जोशमा २० रुपियाँ दाउमा लगाएँ । दुर्भाग्य, दोस्रो पटक पनि मलाई दाउ परेन । धेरै कमाउने सपना चकनाचुर भयो । म त्यहाँ रुन मात्र सकें। लुसुक्क भीडबाट निस्किएँ । “बेकारमा खेलेँ” भन्दै मनमा कुरा खेलाउँदै घर आएँ । त्यो नमज्जाको हारपछि म कहिल्यै कौडा र पासा हान्ने खालतिर गईनँ । यी ३८ वर्षअघिका कुरा हुन् ।
जब–जब तिहार आउँछ, म त्यही बाल्यकालको रमाइलो गाईपूजा, भाइटीका, भैलो सम्झन्छु — अनि नचाहेर पनि मिठो स्मृति बनेर पासा खेल्दाको त्यो “हार” पनि संगसंगै आउँछ ।