© 2026
काठमान्डौ, ५ कार्तिक ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि स्कटल्यान्डका अनुभवी स्पिन बलिङ अलराउन्डर मार्क वाटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएको छ ।
मार्क वाटले स्कटल्यान्डका लागि ७७ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा ८९ विकेट र २९४ रन बनाएका छन् भने समग्र टी–२० अन्तर्राष्ट्रियमा ११७ खेलमा ११४ विकेट र ३६८ रन हासिल गरेका छन् ।
यसैबीच, कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रममार्फत एनपीएलको दोश्रो संस्करणका लागि युवा प्रतिभाशाली खेलाडीहरूको खोजी गरिने कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे ले जानकारी दिएका छन् ।
ट्यालेन्ट हन्ट आउँदो कात्तिक १७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने बताइएको छ । इच्छुक खेलाडीहरूले नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ ।